राजनीति

कर्मचारीमाथिको हस्तक्षेप सह्य हुँदैनः सभापति देउवा

चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि बहानामा कर्मचारीमाथिको हस्तक्षेप काँग्रेसलाई सह्य नहुने बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियन (संघ)को सातौँ महाधिवेशनको आज रत्ननगरमा उद्घाटन गर्दै सभापति देउवाले नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी, न्यायपालिकालगायत क्षेत्र स्वतन्त्र हुनुपर्ने बताए। अहिलेको सरकारले ती निकायमाथि हस्तक्षेप गर्न थालेको उनको आरोप थियो ।

“कुनै पनि निकायका विरुद्धमा गरिने हस्तक्षेप र अधिनायकवाद काँगेसलाई स्वीकार्य छैन,” उनले भने । त्यस्ता निकाय हस्तक्षेपमुक्त हुनुपर्ने भन्दै सभापति देउवाले भने, “तपाईंहरु ढुक्कसँग स्वतन्त्र रुपमा काम गर्नुहोस्, कसैले तपाईंहरुमाथि हस्तक्षेप गर्न सक्दैन, त्यसका लागि हामी छौँं ।”

कांँग्रेस स्वतन्त्र न्यायपालिका, प्रहरी, सेना र कर्मचारीको पक्षमा रहेको भन्दै उनले भने, “काँग्रेसले सरकारमा रहँदा पनि हस्तक्षेप गरेन, अरु कसैले पनि हस्तक्षेप गर्न पाउँदैन ।” स्वतन्त्र न्यायपालिका, मौलिक अधिकारका पक्षमा काँंग्रेस सधैँं रहने उनले बताए । नेपाली जनताले ठूलो संघर्षबाट संविधान प्राप्त गरेको भन्दै उनले यसको खिलापमा कोही कसैलाई नलाग्न चेतावनी दिए ।

मुलुकमा महत्वपूर्ण परिवर्तन काँंग्रेसले नै गरेको भन्दै उनले संविधानको कार्यान्वयनमा सहयोग गर्न आफ्नो पार्टी सदैव तयार रहेको बताए । संविधान कार्यान्वयन भएमा मात्रै मुलुकले निकास पाउने भन्दै उनले यसका लागि दत्तचित्त भएर लाग्न कर्मचारीलाई आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै काँंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार स्वेच्छाचारी र सर्वसत्तावादतर्फ जान खोजेको भन्दै अहिले खोजिएको दुई तिहाईभित्र रहस्य लुकेको बताए । स्पष्ट बहुमत हुँदा हुँदै दुईतिहाईको सौदावाजी चलिरहेको भन्दै उनले यसअघि संविधान संशोधन गर्नै हुन्न भन्ने कम्युनिष्ट किन अहिले जे गरेर पनि दुईतिहाई खोजिरहेका छन् ? भन्ने प्रश्न गरे।

विपी कोइराला, गणेशमान सिंह, सूवर्ण शमशेरलगायत नेताले गर्न नसकेको काम पछिल्लो समय काँग्रेसले गरेर देखाएको नेता पौडेलको भनाइ थियो । “पञ्च र राजा फालेर संविधान निर्माण गरी कार्यान्वयनको चरणसम्म ल्याउने काम काँंग्रेसका पछिल्लो समयका नेताले गरेका हुन्,” उनले भने ।

काँग्रेस महामन्त्री डा शशांक कोइरालाले प्रधानन्यायाधीशको बर्खास्तगी नियम विपरीत भएको भन्दै सरकारको आलोचना गरे । उनले सरकारका काम हेरेर समर्थन र विरोध गर्ने भन्दै प्रतिपक्षमा बसेर महत्वपूर्ण भूमिका पार्टीले निर्वाह गर्ने बताए ।

काँंग्रेस कोषाध्यक्ष सीतादेवी यादवले वाम सरकारसँग नडराउन आग्रह गर्दै आफ्नो काम र कर्तव्यमा दृढ भएर लाग्न कर्मचारीलाई आग्रह गरे ।

काँंग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकारकाभन्दा बलियो संविधान भएकाले ९४ प्रतिशत जनताले बनाएको संविधान दुई तिहाई बहुमतबाट तलमाथि गर्ने अधिकार सरकारलाई नभएको बताए ।

काँग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधि र कृष्ण सिटौलाले सरकारको मनोमानी काँग्रेसलाई मान्य नहुने भन्दै संगठन सुदृढ गर्नेतर्फ सबै लाग्नुपर्ने बताए । उक्त अवसरमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, नेता एनपी साउद, गगन थापा, नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलनाथ दाहाल, नेविसंघका अध्यक्ष नैनसिंह महरलगायतले कार्यक्रमलाई सम्बोधन गरेका छन् ।

तीन दिनसम्म सञ्चालन हुने उक्त महाधिवेशनमा ५७० प्रतिनिधि र २०० पर्यवेक्षक सहभागी छन् । संघको ७७ जिल्ला समिति र मन्त्रालय तथा विभाग गरी ४६ विभागीय कार्यसमिति रहेका छन् भने २८ हजार पाँच सय सदस्य छन् । महाधिवेशनले संघीय संरचनाअनुसारको विधान अनुमोदन गर्दै ८५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने संघका अध्यक्ष सुबोधकुमार देवकोटाले जानकारी दिए ।