समाचार

पुनःनिर्माणका अठहत्तरवटा गुनासो फछ्र्योट

रसुवा । भूकम्पपछिको निजी आवास निर्माणको काम सहजीकरणका लागि परेका गुनासो निवेदन अधिकांश फछ्र्योट भएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत विनोद भट्टराईका अनुसार पुनःनिर्माण कार्यमा हुनसक्ने भ्रष्टाचार न्यूनीकरण सहजीकरण गर्न रसुवामा आफ्नो एकाइ स्थापना गरी आवास र विद्यालय निर्माणतर्फ केन्द्रित रही अवलोकन कार्य अगाडि बढाइएको छ ।

छुटेका नाम समावेश गराइदिन विदेशमा भएका लाभग्राहीको नाममा सूचीकृत भएको रकम घरका परिवारले उपलब्ध गर्न समस्या भएको र पुनःनिर्माणमा खटिएका प्राविधिक समयमा नपुगेको भन्ने ९३ वटा गुनासो निवेदन पेश भएको बताइएको छ ।

सरोकारवाला निकायसँग समन्वय गरी ७८ वटा फट्र्योट गरिएको र १५ वटा राजमार्गको मापदण्डभित्र आवास निर्माणसम्बन्धी भएकाले सम्बन्धित निकायमा पठाइएको कार्यक्रम अधिकृत भट्टराईले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्।

भ्रष्टाचार न्यूनीकरण गर्न सहयोगी भूमिका निर्वाह गर्ने संस्था ट्रान्सपरेन्सी भएको बताउँदै कार्यक्रम अधिकृत भट्टराईले पुनःनिर्माणको कार्यमा गिट्टी, बालुवा, सिमेन्ट, रड गुणस्तरको हुनुपर्ने र सिमेन्ट उत्पादन भएको ६० दिनभित्र प्रयोेग गर्न सुझाव दिए ।

कुनैपनि इँटा दुई घण्टा भिजाउँदा त्यसको तौल बढ्यो भने गुणस्तरहीन हुने र पानीमा डुबाउनुपूर्वकै तौल यथावत रहेमा गुणस्तरीय हुने समेत कार्यक्रममा जानकारी दिइएको थियो ।