खेलकुद

ब्याडमिन्टन, लनटेनिस र भलिबल विजेतालाई पुरस्कार

काठमाडौ । चौधौँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन, दशौँ सहवीर स्मृति खुला लनटेनिस र पाँचौँ राष्ट्रिय खुुला महिला भलिबल प्रतियोगिताको विजेता टोलीलाई आज पुरस्कार वितरण गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय खेलकुद समितिको आयोजनामा यही फागुन २७ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिताका विजेतालाई सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले शिल्ड, पदक तथा पुरस्कार प्रदान गरे ।

त्यस्तै उक्त प्रतियोगिताको अन्य विभिन्न इभेन्ट्समा विजयी खेलाडीलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, अखिल नेपाल लनटेनिस संघका अध्यक्ष ज्योति राणा, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मालगायतले पुरस्कार प्रदान गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले खेलकुद क्षेत्रमा सक्रिय नवप्रतिभालाई आकर्षित गर्न तथा राष्ट्रिय खेलकुदको विकासका लागि यस किसिमको प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रियस्तरका तीनवटै प्रतियोगितामा उल्लेख्य सहभागिता रहेको चर्चा गरे ।

आजै सम्पन्न ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लवका रत्नजीत तामाङले एपिएफका दीपेश धामीलाई २२–२० र २१–११ ले पराजित गरी उपाधि हात पारे ।

यसैगरी आजै सम्पन्न लनटेनिस प्र्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको उपाधि आर्मीका प्रनभ खनालले हात पारे । उनले फाइनल खेलमा ललितपुरका जीतेन्द्र परियारलाई ७–५, ३–६ र ६–० ले पराजित गरी उपाधि हात पारेका हुन् ।

लनटेनिस प्रतियोगिताको महिला एकलतर्फको उपाधि भने नेपाल पुलिस क्लवका मायंका राणाले हात पारिन् । उनले सोही क्लवका माहिका राणालाई ६–४, ३–६ र ६–३ ले पराजित गर्दै उपाधि हात पारेकी हुन् ।

यता महिला भलिबलतर्फको उपाधि भने आयोजक एपिएफले हात पारेको छ । एपिएफले न्यू डाइमण्ड एकेडेमी काठमाडौँलाई २५–१९, २५–१८ र २५–१९ को अन्तरले पराजित गरी उपाधि हात पार्न सफल भएको हो ।

यसैगरी प्रतियोगितामा नेपाल पुलिस क्लवले तेस्रो स्थान हात पा¥यो । प्रतियोगितामा उपाधि विजेता एपिएफले रु दुई लाख ५० हजार प्राप्त ग¥यो । दोस्रो स्थानमा चित्त बुझाएको न्यू डाइमन्डले रु एक लाख २५ हजार तथा तेस्रो भएको पुलिसले रु ५० पायो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफ क्लवकी विनिता बुढाथोकी घोषित भइन् । उनले पुरस्कारस्वरुप एक थान स्कुटर प्राप्त गरिन् ।

सो प्रतियोगितामा एपिएफकी नेविका चौधरी उत्कृष्ट स्पाइकर, न्यू डाइमण्डकी प्रतिभा माली उत्कृष्ट सर्भर, एपिएफकै मनिषा तामाङ उत्कृष्ट डिफेन्स, एपिएफकै सरस्वती चौधरी उत्कृष्ट ब्लकर, न्यू डायमण्डकी कृपा अधिकारी उत्कृष्ट सेटर र एपिएफका ज्ञानेन्द्रबहादुर विष्ट उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले जनही रु पाँच हजार प्राप्त गरे ।