खेलकुद

स्थानीय तहको प्राथमिकतामा भलिबल

बैतडी । क्रिकेटको उर्वरभूमि भनेर चिनिने बैतडीमा पछिल्लो समय नेपालको राष्ट्रिय खेल भलिबलको गतिविधि पनि बढ्दै गएको छ ।

ग्रामीण क्षेत्रमा राष्ट्रिय खेल भलिबलको लोकप्रियता बढ्दै गएको छ । देश संघीय संरचनामा गएसँगै जिल्लाका स्थानीय तहले भलिबल खेललाई प्राथमिकतामा राखेका छन् ।

स्थानीय तहले बजेट विनियोजन गरेर भलिबल प्रतियोगिताको आयोजना गरेपछि यसको लोकप्रियता बढ्न थालेको हो । “भलिबल पहिलेदेखि नै सबैले रुचाएको खेल हो, अहिले स्थानीय तहले प्रतियोगिता आयोजना गर्न थालेपछि यसप्रतिको आकर्षण झन बढेको छ,” भलिबल प्रशिक्षक हरिसिंह भण्डारीले भने ।

स्थानीय तहहरुले आयोजना गरेका प्रतियोगितामा ग्रामीण क्षेत्रका खेलाडीले क्षमता देखाउने अवसर पाएको प्रशिक्षक भण्डारी बताउछन् । “सरकारी तवरबाटै लगानी भएपछि ग्रामीण क्षेत्रमा भलिबल प्रतियोगिता निरनतर हुँदै आएका छन्,” उनले भने ।

जिल्ला खेलकुद विकास समितिका सदस्य वसन्त विष्ट स्थानीय तहहरुले आयोजना गरेका भलिबल प्रतियोगितामा खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने मौका पाएको बताउछन् । जिल्लाको डिलासैनी गाउँपालिका, सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका र पुरचौंडी नगरपालिकाले चालु आर्थिक वर्षमा भलिबल प्रतियोगिता सम्पन्न गरिसकेका छन् । दोगडाकेदार गाउँपालिकाले चाँडै भलिबल प्रतियोगिताको आयोजना गर्दैछ ।

भलिबल सबै ठाउँमा सहजै खेल्न सकिने खेल भएकाले यसप्रति आकर्षण बढ्दै गएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताए । भलिबल पहाडी क्षेत्रमा निकै लोकप्रिय मानिन्छ । जिल्लाका पाँचवटा स्थानीय तहले भलिबल प्रतियोगिता सम्पन्न गरिसकेका छन् । केही दिन अघि जिल्लामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समेत सम्पन्न भइसकेको छ ।

“स्थानीय तहले प्राथमिकता दिएसँगै खेलाडीलाई भलिबल खेल्न हौसाएको छ,” जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले भने ।