खेलकुद

लनटेनिसको उपाधि प्रनभ र कमललाई

काठमाडौँ । दशौँ सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिताअन्तर्गत पुरुष युगलतर्फको उपाधि त्रिभुवन आर्मी क्लबका प्रनभ खनाल र नेपाल पुलिस क्लबका कमल भण्डारीको जोडीले जितेको छ ।

सशस्त्र प्रहरी बल नेपाल केन्द्र्रीय खेलकूद समितिको आयोजनामा भएको उक्त प्र्रतियोगिताको फाइनलमा प्रनभ र कमलको जोडीले ललितपुरका सन्तोष खत्री र जितेन्द्र परियारको जोडीलाई ४–६, ६–४ र १०–५ ले पराजित गर्नुभएको हो ।

यसैगरी लनटेनिस प्रतियोगिताअन्तर्गतकै इन्टर गभर्मेन्टल सर्भिस इभेन्टको पुरुष एकलतर्फको उपाधि एपिएफका सुरजकुमार श्रेष्ठले हात पारेका छन् । उनले त्रिभुवन आर्मी क्लबका उत्तम बोगटीलाई ६–३ र ७–५ अंकले पराजित गरेका हुन् ।

यस्तै ३५ वर्षमाथि भेन्ट्रान्स युगलतर्फको फाइनलमा काठमाडौँका महेश श्रेष्ठ र छेवाङ लामाको जोडीले काठमाडौँकै विमल गुरुङ र राजु क्षेत्रीको जोडीलाई ७–५ र ६–० ले पराजित गरी उपाधि जिते ।

त्यस्तै ४५ वर्षमाथि भेन्ट्रान्स युगलतर्फको खेलमा काठमाडौँका सुवर्ण ढाक्वा र कृष्णराज घलेको जोडीले काठमाडौँकै राजु क्षेत्री र शिवप्रसाद सेढार्इंको जोडीलाई ६–३ र ६–३ अंकले पराजित गरी उपाधि हात पारे ।