देश

जति बढी बच्चा जन्मायो, उति बढी प्रोत्साहन रकम

टीकाप्रसाद खतिवडा/मंगलबारे, इलाम । इलाम नगरपालिकामा जति बढी बच्चा जन्मायो उति बढी प्रोत्साहन रकम पाइने भएको छ ।

आगामी २० वर्षभित्र यस नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नति गर्ने उद्देश्यसहित जनगणना वृद्धि गर्न यस्तो नियम बनाइएको हो ।

यस निर्णयले नगरको जनसंख्या वृद्धि गर्ने योजना अघि बढेको छ । जसअन्तर्गत इलाम नगरकार्यपालिकाको बैठकले सुत्केरीलाई उपलब्ध गराउँदै आएको पोषण सुविधामा परिमार्जन गरेको छ ।

नगरभित्रका दोस्रो पटक बच्चा जन्माउने सुत्केरीलाई रु दुई हजार, तेस्रो बच्चा जन्माउने सुत्केरीलाई रु तीन हजार, चौथो पटक बच्चा जन्माउने सुत्केरीलाई रु चार हजार र पाँचौँ पटक तथा सोभन्दा माथि बच्चा जन्माउने सुत्केरीलाई रु पाँच हजार पोषण सुविधा नगद नै दिने निर्णय गरेको छ ।

यसका साथै इलाम नगरपालिकाले पारित गरेको इलाम नगरपालिका कर्मचारी व्यवस्थापन ऐन र शिक्षा नियमावलीमा समेत कर्मचारी तथा शिक्षक–शिक्षिकाले जति पटक बच्चा जन्माए पनि उसले पाउने सुविधामा कुनै कटौती नगर्ने भएको छ ।

दुई पटकसम्म मात्र बच्चा जन्माउने महिला कर्मचारी र शिक्षिकालाई सरकारी सेवा सुविधा दिने कानुनी व्यवस्था छ ।

नगरपालिकाका प्रमुख महेश बस्नेतले इलाम नगरको जनसंख्या पलायन हुँदै गएको र त्यसबाट नगरको चहलपहल घट्ने भएकाले जनसंख्या वृद्धि गर्न नगरपालिका लागिपरेको बताए । उनले भने, “जनसंख्या समस्या होइन, स्रोतको उचित व्यवस्थापन गर्न नसक्नु समस्या हो, यसलाई परिचालन गर्न सक्नुपर्छ ।”

धेरै जनसंख्या भएमा नगरको व्यापारिक, सामाजिक र सांस्कृतिक गतिविधि बढ्ने र यसलाई परिचालन गरी नगरमा विभिन्न सेवा सुविधा थप्न सकिने प्रमुख बस्नेतले बताए ।

साविक इलाम नगरपालिकामा सन् २०११ मा कुल १८ हजार ६३३ जनसंख्या रहेकोमा सन् २०१५ मा १९ हजार ७१२ रहेको बताइएको छ । हाल पुनःसंरचनापछि यहाँ बरबोटे, सुम्वेक, साखेजुङ, सोयाक, पुवामझुवा, सोयाक, गोदक, साङ्रुम्बालगायतका गाविससमेत मिसाइएको छ । तर पनि यहाँको जनसंख्या ४८ हजार ५३६ मात्र रहेकाले उपलब्धि हुन नसक्ने प्रमुख बस्नेतको भनाइ छ ।

नगरपालिकाको यस निर्णयको मिश्रित टिप्पणी हुन थालेको छ । यस निर्णयले गरीबलाई झनै गरीब बनाउने नगरवासीको भनाइ छ । स्वास्थ्य, शिक्षा, खानेपानी, विकासका पूर्वाधारलगायतमा इलाम नगरपालिका अझै कमजोर मानिन्छ ।

यो निर्णय कार्यान्वयन नगराउन नगरवासीले मागसमेत गर्न थालेका छन् ।