राजनीति

उपसभामुखमा भुसाल र तुम्बाहाम्फेको उम्मेदवारी

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदमा नेकपा (एमाले)का डा शिवमाया तुम्बाहाम्फे र नेपाली काँग्रेसका पुष्पा भुसाल गौतमले उम्मदेवारी दिएका छन् ।

शुक्रबार हुने उपसभामुखको निर्वाचनका लागि उनीहरु दुवैले आज उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् ।

डा तुम्बाहाम्फेको प्रस्तावकमा देवप्रसाद गुरुङ र समर्थकमा रवीन्द्रप्रसाद अधिकारी छन् भने भुसालको प्रस्तावकमा डा डिला संग्रौला र समर्थकमा देवेन्द्रराज कँडेल रहेको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए ।

संघीय संसद् सचिवालयले भोलि चैत २ गते दिउँसो १ बजे उपसभामुखको निर्वाचनका लागि तय गरेको प्रवक्ता डा गौतमले बताए । भोलिको प्रतिनिधिसभा बैठकमा दुवै उम्मेदवारीउपर छलफल गरिने र त्यसपछि मत विभाजन गरिने सचिवालयले जनाएको छ ।

उपसभामुखको निर्वाचनका लागि आज बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको थियो । प्रतिनिधिसभाका सभामुखको निर्वाचत गत फागुन २६ गते सम्पन्न भएको थियो । सभामुखमा नेकपा (माओवादी) केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भइसकेका छन् ।

संविधानको धारा ९१ मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । प्रतितिधिसभाको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो ।

त्यस्तै सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने र दुवै पदमा फरक फरक दलको प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था छ ।