पु.समाचार

सचिवद्वारा प्रधानन्यायाधीश पराजुलीलाई अवकाश पत्र

काठमाडौँ । न्याय परिषद्का सचिव नृपध्वज निरौलाले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता, शैक्षिक योग्यता र सिटरोल विवरणअनुसार गत साउनमै ६५ वर्ष पुगेकाले सो मितिदेखि अवकाश हुनुभएको जनाउसहित उनलाई एक पत्र पठाएका छन्।

प्रधानन्यायाधीश पराजुली २०७४ साउन २१ गते नै ६५ वर्ष पुगेको प्रमाण देखिएको हुँदा उनी ‘पदमा नरहेको’ उक्त पत्रमा उल्लेख गरिएको छ ।

सचिव निरौलाले पत्रमा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट आजै शैक्षिक योग्यताको प्रमाणपत्र र सिटरोलअनुुसार प्राप्त पत्रसमेतको आधारमा प्रधानन्यायाधीश पराजुली गत साउन २१ मा ६५ वर्ष पूरा भइसकेको देखिएको हुँदा आजको ‘सचिवस्तरीय निर्णय’ अनुसार पदमा नरहेको जानकारी गराउँछु भनी उल्लेख गरेका छन् ।

सर्वोच्च अदालत प्रशासनले यस सम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन । आज साँझ न्याय परिषद्को बैठक बस्ने बुझिएको छ ।