पर्यटन/संस्कृति

आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पशुपतिनाथ महोत्सव शुरु

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथको आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पशुपतिनाथ महोत्सव शुरु भएकोे छ ।

चैत ७ गतेसम्म महोत्सव आयोजना हुने महोत्सवको आज देशोद्धार पूजा गरी शुरुवात् गरिएको आयोजक समितिका अध्यक्ष केदारमान भण्डारीले जानकारी दिए । धार्मिक, सांस्कृतिक महत्व बोकेको महोत्सवको औपचारिक उद्घाटन भने चैत १ गते बिहीबार गरिनेछ । महोत्सवले धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

महोत्सवमा धार्मिक गोष्ठी प्रवचनका अतिरिक्त तस्वीर, वृत्तचित्र प्रदर्शनी, नेवारी तथा अन्य परिकार, कला संस्कृति प्रदर्शन गरिनाका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहने जनाइएको छ ।

महोत्सवमा श्रीमद्भागवत कथा, पाहाँचह्रे जात्रालगायतको अवलोकन, संगीतमय महाआरती, दुर्लभ धार्मिक पुस्तक प्रदर्शनी, नेपाल र भारतका वरिष्ठ कलाकारद्वारा शास्त्रीय तथा भक्ति संगीतको समेत आयोजना गरिएको छ ।