पर्यटन/संस्कृति

बिमान दुर्घटनाः सरोकारवाला संस्थासँग सहकार्य गरेर अनुसन्धानका कार्य अघि बढाउँछौँ : सह-सचिब आचार्य

काठमाडौँ । युएस बंगला विमान दुर्घटना सम्बन्धमा छानबिन गर्न गठित जाचँबुझ आयोगले आजदेखि आफ्नो काम शुरु गरेको छ ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त विमान सम्बन्धमा छानबिन गर्न सरकारले पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छ सदस्यीय जाचँबुझ आयोग गठन गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले युएस विमान दुर्घटना सम्बन्धमा दुर्घटना जाँच आयोगले आजैदेखि अनुसन्धानको काम शुरु गरेको जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव आचार्यले आयोगको काम शुरु भएको र मन्त्रालयमा सचिवालय स्थापना गरेर अनुसन्धान कार्यलाई व्यवस्थित र प्रभावकारी बनाइले बताए ।

“दुर्घटना जाचँबुझ आयोगले काम थालिसकेको छ, यो अन्तर्राष्ट्रिय उडानमा सरिक वायुयान दुर्घटना भएकाले यसमा धेरै खालका विज्ञहरुको संलग्नता रहन्छ, जहाज निर्माता क्यानेडियन कम्पनीलाई जानकारी गराइसकेका छौँ, बंगलादेश नागरिक उड्डयन प्राधिकरणलाई पनि खबर गरिएको छ, अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता संस्थासँग सहकार्य गरेर अनुसन्धानका कार्य अघि बढाउँछौँ,” उनले भने ।

सहसचिव आचार्यका अनुसार व्यापारिक उडानमा रहेको विमान दुर्घटनाको यति अवधिमा छानबिन गरिसक्ने भन्ने विश्वव्यापी कुनै मान्यता नरहेको भएतापनि नेपालले दुई महिना ९० दिन र बढीमा पाँच महिना अवधिको समयावधि अभ्यास गर्दै आएको छ । सकेसम्म पाँच महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने भन्ने प्रारम्भिक सम्झौता भएको उनले बताए ।

बंगलादेशका पर्यटनमन्त्री, परराष्ट्रराज्यमन्त्री तथा त्यहाँको नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीको टोली काठमाडौँ आइसकेको र आज साँझ उनीहरुसँग छलफल हुने सहसचिव आचार्यको भनाइ छ । छ सदस्यीय जाचँबुझ आयोगको सदस्यमा प्रमुख सेनानी डा राजीव देव तथा क्याप्टेनत्रय केके शर्मा, सुनिल प्रधान र उद्धवप्रसाद सुवेदी छन् भने सदस्यसचिवमा सहसचिव बुद्धिसागर लामिछाने छन् ।

पत्रकार सम्मेलनमा उपस्थित पर्यटन मन्त्रालयका सचिव कृष्ण देवकोटाले दुर्घटनाको संकटकालीन अवस्थालाई हेर्दा विमानस्थलले सरोकारवाला निकायको सहयोगमा चाँडो र प्रभावकारी उद्धार गरेको उल्लेख गर्दै खोज तथा उद्धार कार्यमा संलग्न सबैप्रति धन्यवाद व्यक्त गरे । उनले विमान दुर्घटनामा परी मृत्यु भएकाप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे ।

बंगलादेश–काठमाडौँ नियमित उडानमा रहेको युएस बंगाल एयरलाइन्सको उडान नं. ग्द्यन् द्दज्ञज्ञ ९म्ज्डम् वायुयान० अवतरणका क्रममा अपराह्न १४ः१८ मा विमानस्थलको पूर्वपट्टि रहेको मैदानमा दुर्घटनाग्रस्त भएको थियो ।

क्यानका महानिर्देशक सञ्जीव गौतमका अनुसार दुर्घटनामा परी हालसम्म चालक दलका सदस्यसहित ४९ जनाको मृत्यु हुनाका साथै २२ घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विमानमा चालक दलका चार सदस्यसहित ७१ जना सवार थिए । जसमा ३७ पुरुष, २८ महिला र दुई बालबालिका तथा चालक दलका सदस्य चार जना सवार थिए । तीमध्ये ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सरकारी तथ्यांक नै बाझियो

गृहमन्त्रालयका सहायक प्रवक्ता झम्कनाथ ढकालले आज दिउँसो जारी गर्नुभएको विज्ञप्तिमा विमान दुर्घटनामा परी ५१ जना यात्रुको मृत्यु भएको जानकारी दिएका थिए । तर उक्त तथ्यांक नमिलेको भन्दै नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले राससलाई टेलिफोन गरी जहाज दुर्घटनामा ४९ जनाको मात्रै मृत्यु भएको जानकारी दिए । उनका अनुसार उपचारार्थ घाइते २२ मध्ये दुई जना डिस्चार्ज भएको र बाँकी २० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हालसम्म प्राप्त विवरणअनुसार काठमाडौँ शिक्षण अस्पतालमा १०, नर्भिक अस्पतालमा पाँच, ग्राण्डी अस्पतालमा चार तथा मेडिसिटी, ओम र न्यूरो अस्पतालमा एक एक जना उपचारार्थ रहेकोमा दुई जना डिस्चार्ज भएको विमानस्थलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

असाधारण अवतरणले दुर्घटना

युएस बंगाल विमान दुर्घटना सम्बन्धमा जाचँबुझ आयोगको प्रतिवेदन नआईकन केही बताउन नमिल्ने भए पनि यसमा चालकको लापर्वाहीले दुर्घटना हुनसक्ने क्यानको प्रारम्भिक अनुसन्धानबाट जनाइएको छ ।

क्यानका महानिर्देशक सञ्जीव गौतमले दुर्घटनाबारे आयोगले विमानको प्राविधिक पक्षको प्रतिवेदन तयार गरेपछि मात्र थाहा हुने भए पनि असाधारण अवतरणले दुर्घटना भएको हुन सक्ने बताए । उनका अनुसार विमान दक्षिणबाट अवतरण गर्नुपर्नेमा दिशा मोडेपछि विमानस्थल टावरले सहज अवतरणका लागि आग्रह गर्दा पनि जहाजले आपत्कालीन घोषणा भने गरेको थिएन ।

जहाजको अवतरण असाधारण देखिएपछि विमानस्थल प्राविधिकले अन्य जहाजलाई आकाशमै होल्ड गराएको थियो ।