साहित्य

‘प्रज्ञा समकालीन नेपाली कविताविमर्श’ प्रकाशित

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा समकालीन नेपाली कविताविमर्श’ नामक समालोचनात्मक कृति प्रकाशन गरेको छ ।

प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्य) विभागको योजनाअन्तर्गत प्रकाशित सो समालोचनात्मक ग्रन्थको सम्पादन प्राज्ञ डा अमर गिरी, सहप्राध्यापक हेमनाथ पौडेल र डा लक्ष्मणप्रसाद गौतमले गरेका हुन्।

कृतिमा डा अभि सुवेदीको ‘समकालीन नेपाली कवितामा जनजातीय चेतना’, डा गिरीको ‘समकालीन नेपाली कवितामा भूमण्डलीकरण’, डा कुमारप्रसाद कोइरालाको ‘समकालीन नेपाली कवितामा राजनीतिक चेतना’, गीता त्रिपाठीको ‘समकालीन नेपाली कवितामा पर्यावरण’, डा गोविन्दराज भट्टराईको ‘समकालीन नेपाली कवितामा उत्तरआधुनिकता’, ज्ञानु अधिकारीको ‘समकालीन नेपाली कवितामा साइबर चेतना’ शीर्षक लेख समाविष्ट छन् ।

यसैगरी डा ताराकान्त पाण्डेयको, ‘समकालीन नेपाली कविताको वैचारिक अन्तर्वस्तु’, डा नेत्र एटमको ‘समकालीन नेपाली कवितामा वैचारिक शिल्पविधान’, डा गौतमको ‘समकालीन नेपाली कवितामा अन्तर्विषयक पठन’, डा विन्दु शर्माको ‘समकालीन नेपाली कवितामा नारीचेतना’ र सहप्राध्यापक पौडेलको ‘समकालीन नेपाली प्रगतिवादी कवितामा सौन्दर्य चेतना’सहित शीर्षक ११ समालोचनात्मक लेख कृतिमा समेटिएको प्राज्ञ शशि लुमुम्बुले जानकारी दिए ।

साहित्य (पद्य) विभाग प्रमुख डा गिरीले समकालीन नेपाली कविताका विभिन्न पक्षको समालोचनात्मक अध्ययनको आवश्यकता महसुस गरेर प्रतिष्ठानको पद्य विभागको योजनाअन्तर्गत सो कृति तयार पारिएको र यसले समकालीन नेपाली कविताबारे प्राज्ञिक विमर्शलाई अघि बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।