खेलकुद

लनटेनिस र ब्याडमिन्टन

काठमाडौँ । दशौँ सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिताअन्तर्गत आज भएको पुरुष एकलतर्फ काठमाडौँका विवेक शंकर श्रेष्ठ विजयी भएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय खेलकुद समितिको आयोजनामा भएको उक्त खेलमा विवेकले काठमाडौँकै शिवम विक्रम थापालाई ७–५, ३–६ र ६–१ अंकले पराजित गरे ।

त्यस्तै काठमाडौँका मानबहादुर कटवालले ललितपुरका निशान श्रेष्ठलाई ६–३ र ६–४ ले तथा ललितपुरका सन्तोष खत्रीले काठमाडौँका नीनवाम राईलाई ६–१ र ६–० ले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेका छन् ।

लनटेनिसको महिला एकलतर्फको खेलमा एपिएफकी भगवती विकले काठमाडौँकी सलोनी तामाङलाई ६–३ र ६–१ ले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेका छन् । लनटेनिसको पुरुष युगलतर्फको खेलमा काठमाडौँका मानबहादुर कटवाल र जीवन घिमिरेको जोडीले काठमाडौँकै शिवमविक्रम थापा र सरोज तामाङको जोडीलाई ६–० र ६–२ ले पराजित गरे ।

ललितपुरका सन्तोष खत्री र जितेन्द्र परियारको जोडीले काठमाडौँका छेवाङ लामा र विवेक शंकर श्रेष्ठको जोडीलाई ६–१ र ६–० ले तथा पोखराका प्रदीप खड्का र अनिल शाहीको जोडीले बुटवलका विकास खड्का र गोपाल ज्ञवालीको जोडीलाई ६–२ र ६–४ ले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेका छन् ।

आजै भएको ब्याडमिन्टनअन्तर्गत पुरुष एकलतर्फको विधामा त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङले कैलालीका देवराज रानालाई २१–१२ र २१–१२ ले पराजित गर्दै विजयी भए । त्रिभुवन आर्मी क्लबकै प्रज्वल महर्जनले एपिएफका सुदीप सेँढाईलाई २१–११ र २१–१९ ले, भोजपुरका विकास श्रेष्ठले एपिएफका गौतम कठायतलाई २१–१९ र २१–१९ ले तथा एपिएफका साजनकृष्ण ताम्राकारले एपिएफकै इन्द्रबहादुर महतालाई २१–१४ र २१–१० अंकले हराए ।

त्यसैगरी, दार्चुलाका प्र्रिन्स दाहालले नेपाल पुलिस क्लबका दीपक बोहोरालाई २१–७ र २१–१७ अंकले तथा त्रिभुवन आर्मी क्लबका नवीन श्रेष्ठले नेपाल पुलिस क्लबका जीवन आचार्यलाई २१–१२ र २१–१६ अंकले पराजित गरेका छन् ।