समाचार

पीडितलाई अन्याय हुने गरी मुद्दा फिर्ता नलिन माग

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले टीकापुर घटनाका संलग्न दोषीलाई उन्मुक्ति दिने उद्देश्यले मुद्दा फिर्ता नलिन माग गरेको छ ।

समाजका महासचिव उत्तम पुडासैनीले आज जारी गर्नुभएको विज्ञप्तिमा नयाँ सरकार गठन भएसँगै विसं २०७२ भदौमा घटाइएको उक्त घटनाका दोषीलाई आममाफी दिने प्रयास भइरहेको आशंका व्याप्त भएको हुँदा त्यसो नगर्न आग्रह गरिएको छ ।

कुनै पनि अवस्थामा दोषीले उन्मुक्ति र निर्दोषले दण्ड सजाय पाउन नहुने भन्दै त्यस घटनाका दोषीबारे न्यायिक प्रक्रियाबाट टुंगो लगाइसकिएकाले राजनीतिक हस्तक्षेप नगर्न विज्ञप्तिमा भनिएको छ ।

राजनीतिक सहमतिका नाममा पीडकलाई उन्मुक्ति दिने, न्यायिक प्रक्रियालाई क्षतविक्षत पार्ने र खण्डित गर्ने कार्यलाई सरकारले नियन्त्रण गर्नपर्ने भन्दै अपराधमा संलग्न व्यक्तिले कुनै पनि निकायको निर्वाचन जित्दैमा आममाफी दिन नमिल्ने उल्लेख गरिएको छ ।

अपराध प्रवृत्तिका मानिसलाई निर्वाचनमा उम्मेदवार बनाउने दलहरुको नियत नै खराब देखिएको र अपराधको राजनीतिकरण बढ्दै गएको सन्दर्भमा अपराधकुक्त राजनीति र अपराधिमुक्त निर्वाचित निकायका लागि आवश्यक कानूनी व्यवस्था गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको छ ।