पु.समाचार

निर्माणाधीन जामुघाट पुल सुर्खेत पश्चिमको समृद्धि

सुर्खेत । पञ्चपुरी नगरपालिकाको जामुघाट भेरी नदीमा निर्माणाधीन पुललाई पश्चिम सुर्खेतको समृद्धिका रुपमा हेरिएको छ ।

हजारौँ जनताको रोजीरोटी खोस्ने र सयौँलाई घरबारविहीन बनाउने भेरी नदीमाथि २०७२ साल जेठबाट पक्की पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । पुल निर्माणको जिम्मा अनक–लुम्बिनी–हिङ्दुङ् जेभीले लिएको छ । रु। ३६ करोड लगानीमा बन्न लागेको पुलको ७५ प्रतिशत काम पुरा भएको साइट इञ्चार्ज दिनेश श्रेष्ठले जानकारी दिए ।

पुल निर्माण भइरहेकाले हालसम्म त्यस क्षेत्रका नागरिकले तुइन र काठको डुंगाबाट आवातजावत गरिरहेका छन् । “सधैँ कहालिलाग्दो यात्राबाट भेरी नदी पार गरिरहेका छौँ, अब भने केही महिनापछि निर्माणाधीन पुलबाटै आवतजावत गर्ने खुशी सँगालेर बसेका छौँ,” पञ्चपुरी नगरपालिका–५ तिखाकुना गाउँका स्थानीयवासी विनोद देवकाटाले भने ।

वर्षेनी पञ्चपुरी नगरपालिका–१० को गल्फगाउँ र ५ को तिखाकुना गाउँको दुःख बन्दै आएको भेरी नदीले आफ्ना आसापासका बस्तीलाई बगरमा परिणत गर्ने गरेको सो नगरपालिकाका स्थानीय समाजसेवी खड्ग बाँसपानीले जानकारी दिए । “निर्माणाधीन पुल बनेपछि गल्फ र तिखाकुना गाउँलाई मात्र जोड्ने छैन, यो उत्तरमा अछामको तुर्माखाँद हुँदै कर्णाली राजमार्ग जोड्ने हाई फास्टट्र्याक बन्नेछ”, उनले भने ।

निर्माणाधीन पुलले उत्तरका साथै दक्षिणमा महेन्द्र राजमार्गसँग जोड्न पनि सघाउ पु¥याउने भएकाले पुल निर्माणबाट पश्चिम सुर्खेतको समृद्धिको ढोका खोल्ने उनको भनाइ छ । चार वर्ष निर्माण अवधि तोकिएको पुलको लम्बाइ ३५१ मिटर रहेको साइट इञ्चार्ज श्रेष्ठले बताए ।