पर्यटन/संस्कृति

महायज्ञबाट रु एक करोड २५ लाख सहयोग

विराटनगर । सरकारको स्मार्ट सिटी र ई–लाइब्रेरीको सोचलाई साकार बनाउन विष्णुमाया पुस्तकालय विराटनगरले उक्त कार्यको शुरुवात गर्न लागेको छ ।

आधुनिक सामुदायिक भवन सहितको ई–लाइबे्ररी सञ्चालन गर्न यही फागुन २० देखि २७ गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा दाताहरुले रु एक करोड २५ लाख बराबरको नगद र जिन्सी सामग्री सहयोग गरेका छन् ।

विसं २०२४ मा विराटनगर–१ स्थित पाँच कट्ठा जग्गामा स्थापना भएको विष्णुमाया पुस्तकालय र वाचनालयले ५० वर्षपछि काँचुली फेर्न आधुनिक सामुदायिक भवन र ई–लाइब्रेरी सञ्चालन गर्न लागेको आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सामुदायिक भवनका अध्यक्ष केशवप्रसाद गौतमले बताए ।

बराहक्षेत्रका प। योगेश भण्डारीद्वारा कथावाचन गरिएको उक्त महायज्ञमा खर्पा डेभलपमेन्ट कम्पनीले रु ६ लाख बराबरका जग्गा र जीवन विकास समितिले रु पाँच लाख बराबरको कम्प्युटर सामग्री प्रदान गरेका छन् । पुस्तकालयले आगामी छ महिनाभित्र अहिले भइरहेको भवनमा मर्मतसम्भारसहित थप एक तल्लामा ६ कोठा र एक सभा भवन निर्माण गरिने अध्यक्ष गौतमले जानकारी दिए ।

पुस्तकालयले विगतदेखि नै अध्ययन, स्वास्थ्य उपचार तथा अन्य कार्यका लागि आउने सर्वसाधारणलाई निःशुल्क बास र खानाको व्यवस्थासमेत गर्दै आएको छ । सामुदायिक विद्यालय अध्ययनमा कमजोर १० कक्षामा विद्यार्थीलाई पुस्तकालयका भवनमा अतिरिक्त कक्षाको व्यवस्थासमेत गर्दै आएको अध्यक्ष गौतमले बताए । पुस्तकालयले सामाजिक दायित्वअन्तर्गत उक्त क्षेत्रमा मदिरा बिक्री–वितरण रोक्न विभिन्न दबाबमूलक कार्य सञ्चालन गरिरहेको छ ।