समाचार

आयोगले गर्यो, बोक्सीको आरोपमा कुटपिटमा संलग्नलाई कानूनी कारबाहीको माग

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलीकी राधा चौधरीमाथि बोक्सीको आरोपमा बिहीबार गरिएको कुटपिटमा संलग्न व्यक्तिलाई कानूनबमोजिम कारबाही गर्न माग गरेको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा बोक्सीको आरोपमा कुटपिटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको र कुटपिट गर्ने अपराधमा संलग्नलाई कानूनबमोजिम तत्काल कारबाही गर्न माग गरिएको छ ।

विज्ञप्तिमा अत्याधिक व्यक्तिको उपस्थितिमा एक जना १८ वर्षीया बालिकामाथि बोक्सीको आरोपमा निरन्तर र निर्घात तबरले छ घण्टासम्म कुटपिट गरिनु अत्यन्त क्रुर, अमानवीय र घृणित कार्य भएको उल्लेख छ ।

आयोगले कुटपिटबाट घाइते भई उपचारमा रहेकी चौधरीलाई धनगढीस्थित क्षेत्रीय सेती अञ्चल अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै घटनास्थल पुगेर अनुगमन गरेको छ ।

अनुगमनबाट प्राप्त तथ्यअनुसार पीडित चौधरीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको, पीडक पक्षबाट घटना सम्बन्धमा कहीँकतै उजुरी नदिन निरन्तर धम्की दिइएकाले पीडित परिवार मानसिकरूपमा त्रसित रहेको पाइएको आयोगले जनाएको छ ।

पीडित परिवारलाई उजुरी दिन धम्काउने व्यक्तिको पहिचान गरी कारबाहीको दायरामा ल्याउन, पीडित परिवारको सुरक्षाको सुनिश्चितता गर्न आयोगले स्थानीय प्रहरी प्रशासनको ध्यानाकर्षण गरेको छ ।

नेपालको संविधानले यातना र शोषणलाई बर्जित गरेको छ । बोक्सीसम्बन्धी (कसूर र सजाय) ऐन २०७२ ले बोक्सीको आरोप लगाएर शारीरिक र मानसिक यातना दिनेलाई सजायको व्यवस्था गरेको छ ।