शिक्षा

शैक्षिक विकासका लागि ४२ बुँदे घोषणापत्र जारी

ताप्लेजुङ । ताप्लेजुङका शैक्षिक संस्थालाई सिकाइ केन्द्रका रुपमा विकास गर्दै सरोकारवालाको आकर्षणको केन्द्रका रुपमा स्थापित गर्न ४२ बुँदे घोषणापत्र जारी गरिएको छ । शैक्षिक जनशक्ति विकास केन्द्रको समन्वयमा माध्यामिक तहका प्रधानाध्यापकको नेतृत्व विकाससम्बन्धी सञ्चालित दशदिने तालीमको शनिबार समापन सँगै यस्तो घोषणापत्र जारी गरिएको हो ।

समतामूलक, समावेशी र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि तालीममा सहभागी ५८ वटा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकले शैक्षिक, भौतिक र सुशासन पक्षको सुधार र विकासमा सम्बन्धित ४२ वटा बुँदालाई कार्यान्वयन गर्ने सहमति जनाए सँगै घोषणापत्र जारी गरिएको हो । स्थानीय पाठ्यक्रम प्रारुपका आधारमा स्थानीय परिवेश र आवश्यकता अनुसारको पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने, विद्यार्थीको स्तरअनुसार सन्दर्भ सामग्री भएको कक्षागत बुक कर्नर तथा पुस्तकालयको व्यवस्थापन गर्ने, विद्यालयमा विपद् व्यवस्थापनको योजना बनाई कार्यान्वयन गर्ने लगायतका बुँदाहरु घोषणापत्रमा समेटिएका छन् ।

यस्तै निरन्तर विद्यार्थी मूल्यांकनका मापदण्डअनुसार पाठगत योजना निर्माण गरी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरी सिकाइ उपलब्धि अभिवृद्धि सुनिश्चित गर्नेसमेत उल्लेख छ । रिड नेपाल ताप्लेजुङको आयोजनामा भएको उक्त तालीम शैक्षिक जनशक्ति विकास केन्द्र, जिल्ला शिक्षा कार्यालय ताप्लेजुङ र स्थानीय सरकारको समन्वयमा सदरमुकाम फुङलिङमा सञ्चालन भएको रिड नेपाल ताप्लेजुङका कार्यक्रम संयोजक राजेन्द्र पन्तले जानकारी दिए ।