समाचार

ग्रामीण पत्रकारिता तालीम सफलतापूर्बक सम्पन्न

नेपालगन्ज । ग्रामीण क्षेत्रका मुद्दालाई स्थानीय बासिन्दाकै कलमबाट सञ्चार माध्यममा समेट्ने उद्देश्यले बाँकेको डुडुवा गाउँपालिकामा सञ्चालित तीनदिने ग्रामीण पत्रकारिता तथा उद्घोषण तालीम शनिबार सकिएको छ ।

डुडुवा गाउँपालिका कार्यालयको आयोजनामा लक्ष्मीनारायण क्रियसन प्रा।लि। काठमाडौँ तथा अवधि पत्रकार संघ, नेपालगन्जद्वारा सञ्चालित तालीम समापन समारोहमा डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले तालीममा सिकेका ज्ञान व्यवहारमा लागू गर्न आग्रह गरे ।

तालीममा पत्रकारिताका आधारभूत पक्षबारे जानकारी गराइएको र लेखनकला सिकाइएको तालीमका संयोजक सूर्यलाल यादवले जानकारी दिए । तालीमलाई वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य, नीरज गौतम, लियाकत अली, अक्षरी पोखरेल, सन्तोष रेग्मी, मल्टिमिडिया विज्ञ सन्तकुमार बर्मा र सूर्यलाल यादवले सहजीकरण गरेका थिए । तालीममा गाउँपालिकाका सबै वडाका गरी ४५ जनाको सहभागिता रहेको थियो ।