साहित्य

पत्रकार, संगीतकार र साहित्यकार पुरस्कृत

विराटनगर । शिशु सेवा समिति विराटनगरले शनिबार पत्रकारसहित विभिन्न क्षेत्रका चार जनालाई पुरस्कृत गरेको छ ।

सो समितिले आफ्नो ३५औँ वार्षिकोत्सवका अवसरमा रु ११ हजार १११ राशिको ‘शिशु सेवा पत्रकारिता पुरस्कार’बाट पत्रकार नवोदितलाई पुरस्कृत गरेको हो । उनी कारोबार दैनिकका १ नं प्रदेश संयोजक हुन् ।

त्यसैगरी, सोही राशि बराबरको पुरस्कारबाट सङ्गीतकार कुशेश्वरप्रसाद सिंह राई र बाल साहित्यकार कृष्णप्रसाद घिमिरेलाई ‘सङ्गीत’ र ‘बाल साहित्य’तर्फ ताम्रपत्रसहित ‘बाल प्रतिभा पुरस्कार’बाट विराटनगर–१० की ९ वर्षीया सङ्गीतसाधक सर्वाणी श्रेष्ठलाई पुरस्कृत गरिएको छ ।

सो अवसरमा पोखरिया उच्च माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत राम खवासलाई नगद पाँच हजारसहित ‘शिक्षा छात्रवृत्ति’ प्रदान गरिएको थियो । उनीहरुलाई आयोजक संस्थाकी अध्यक्ष वसुश्री पाण्डे र समाजसेवी रमाप्रसाद रिजालले संयुक्त रुपमा नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरे । २०४० सालमा स्थापित शिशु सेवा समितिले बालबालिकाका क्षेत्रमा काम गर्दै आएको छ ।