स्वास्थ्य

दुर्घटना कोष र एम्बुलेन्स सेवा सञ्चालन गरिने

काठमाडौँ । तनहुँ म्याग्दे–काठमाडौँ समाजले गाउँपालिकामा हुने आकस्मिक दुर्घटनालाई मध्यनजर गर्दै आकस्मिक दुर्घटना कोष र एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ ।

समाजको आज काठमाडौँमा सम्पन्न पहिलो साधारणसभा तथा तनहुँका नवनिर्वाचित जनप्रतिनिधिको सम्मानका लागि आयोजना गरिएको कार्यक्रममा एम्बुलेन्स सेवा सञ्चालन तथा दुर्घटना कोषका लागि परराष्ट्रविद् एवं पूर्वमन्त्री डा भेषबहादुर थापा दम्पत्तीले रु एक लाख तथा म्याग्देमा जन्मिई हाल बेलायतमा बस्दै आएका हिक्मत गुरुङले रु एक लाख सहयोग प्रदान गरे ।

यसैगरी तनहुँको म्याग्देमा जन्मिएर काठमाडौँमा बसी विभिन्न व्यापार, व्यवसाय र काम गर्दै आएका थुप्रै व्यक्तिले सहयोग गरेका छन् ।

सो अवसरमा पूर्वमन्त्री थापाले तनहुँको समग्र विकासका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । “तनहुँ धार्मिक, सांस्कृतिक, पर्यटन, कृषि र यातायात सुविधा सम्पन्न जिल्ला हो, यसको भरपुर संरक्षण गरी जिल्लाको विकास गर्नुपर्छ,”– उनले भने ।

नेपाल–भारत प्रबुद्ध समूहका अध्यक्षसमेत रहेका डा थापाले नेपालको स्वतन्त्रता र सार्वभौमिकता कसैको देन नभई नेपालीको देन भएकाले यसको रक्षाका लागि सबै लाग्नुपर्ने बताए ।

तनहुँ क्षेत्र नं १ का सांसद किसान श्रेष्ठले जिल्लाको विकासका लागि आफू राजनीतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठेर काम गर्ने बताए । “म निर्वाचनमा सूर्य चिह्नबाट निर्वाचन लडेर सांसद भएको हुँ, जितेको दिनबाट म सम्पूर्ण तनहुँबासीको सांसद भएको छु, तनहुँको विकासका लागि पार्टीभन्दा माथि उठेर काम गर्नेछु,”– उनले भने ।

तनहुँ क्षेत्र नं २ का सांसद केदार सिग्देलले देशको मूल नीति राजनीतिक भएको भन्दै राजनीतिसँगै विकासलाई अगाडि बढाउने बताए ।

म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, नेपाल लयर्स एशोशियसनका पूर्वअध्यक्ष यदुनाथ खनाललगायतले म्याग्दे गाउँपालिकालाई तनहुँको उत्कृष्ठ गाउँपालिका बनाउन सबै आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए ।

विसं २०७३ सालमा स्थापना भएको समाजले म्याग्देको समग्र विकासका लागि काम गर्दै आइरहेको समाजका अध्यक्ष माधव घिमिरेले जानकारी दिए ।