समाचार

बसपार्क निर्माणका लागि सम्झौता

बागलुङ । वर्षौंसम्म अलपत्र बागलुङ बसपार्क निर्माणको काम अघि बढ्ने भएको छ । बसपार्क निर्माणका लागि बागलुङ नगरपालिका कार्यालय र नगर विकास कोषबीच शुक्रबार ऋण सम्झौता भएको छ । केही अनुदान र केही ऋण उपलब्ध गराउने गरी सम्झौता भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । रु १० करोड ४६ लाख ८७ हजार कूल लागतमध्ये कोषले रु नौ करोड चार लाख ३९ हजार ऋण उपलब्ध गराउने छ ।

सरकारकोतर्फबाट रु ७५ लाख ३६ हजार ऋण तथा नगरपालिकाको समपूरक कोषबापतको रु २५ लाख १२ हजार हुने सम्झौतापत्रमा उल्लेख छ । यस्तै अनुदानतर्फ जर्मन वित्तीय सहयोग संस्थाबाट रु १० लाख, नेपाल सरकारको रु १८ लाख ८९ हजार र नगरपालिका समपूरक कोषबापतको रु १३ लाख नौ हजार उपलब्ध हुनेछ ।

राष्ट्रिय सडक सञ्जालमा जोडिएको २५ वर्ष बित्दासमेत बागलुङमा व्यवस्थित बसपार्क बन्न सकेको थिएन । बसपार्क बनाउन स्थानीयवासीले रु ७० करोड पर्ने जग्गा निःशुल्क उपलब्ध गराउँदा पनि बसपार्क बनाउने योजना अवरुद्ध हुँदै आएको थियो । तीन वर्षअघि स्थानीयवासीले साढे १७ रोपनी जग्गा नगरपालिकालाई हस्तान्तरण गरेका थिए ।

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको समेत केन्द्र रहेको बागलुङमा व्यवस्थित बसपार्कको आवश्यकता खड्किँदै आएको छ । अहिले बागलुङ नगरपालिका–३ चिप्लेटीमा अव्यवस्थितरुपमा अस्थायी बसपार्क सञ्चालित छ ।