मनोरञ्जन

चलचित्र ‘पञ्चायत’को रेडकार्पेट प्रिमियर

नारायण ढुंगाना/ काठमाडौँ । आगामी चैत २ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको ऐतिहासिक विषयवस्तुमा आधारित चलचित्र ‘पञ्चायत’को शुक्रबार राति काठमाडौँको कुमारीहलमा शीर्ष नेताहरुको सहभागितमा रेडकार्पेट ‘प्रिमियर ‘सो’ गरिएको छ ।

पूर्व प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेता, विशिष्ठ कलाकार, पत्रकार, चलचित्रकर्मीलगायत ३०० भन्दा बढीको सहभागितमा शुक्रबार साँझ प्रिमियर सो गरिएको थियो ।

चलचित्र हेरेपछि नेताहरुले उत्कृष्ट फिल्म बनेको भन्दै चलचित्रको कथावस्तु र कलाकारको प्रस्तुतिको तारिफ गरेका छन् । २०३१ सालमा एउटा गाउँमा भएको न्याय प्रणाली, सामाजिक व्यवस्था तथा संस्कृतिसँग जोडेर चलचित्र निर्माण गरिएको छ ।

चलचित्र पञ्चायत हेरेपछि पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भने, “चलचित्रले त्यति बेलाको सामाजिक सांस्कृतिक चित्रण गर्न सफल भएको छ, कलाकारको प्रस्तुति राम्रो र प्रभावकारी छ ।”उनले नाम, कथावस्तु र पात्रको प्रस्तुतिमा अलिकति अन्तरविरोध जस्तो देखिएको प्रतिक्रिया दिए ।

अर्का पूर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले फिल्म यथार्थ, रोचक र मार्मिक भएको उल्लेख गरे । ‘चलचित्रमा समाजको यथार्थ प्रतिविम्ब छ, विकृति विसंगति जुन ढंगले उजागर गरेको छ, बधाई छ ।’ खनालले भने ।

पूर्व अर्थमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले पुरानो इतिहास र समाज चित्रण गरेको भन्दै नयाँ पुस्ताले त्यो बेलाको राजनीतिक र सामाजिक परिवर्तन हेर्न पाउनु ठूलो कुरा भएको उल्लेख गरे ।

पूर्व ऊर्जामन्त्री एवं माओवादी केन्द्रका अर्का नेता जनार्दन शर्माले पुरानो भए पनि नेपाली समाजले भोगेको कुरा देखाउन खोजेको भन्दै कलाकारको मेहनतको प्रशंसा गरे । उनले भने, “हृदयविदारक दृष्य प्रस्तुत गरेको छ धेरै राम्रो छ ।”

नेकपा एमालेका युवा नेता योगेश भट्टराईले नेपाली समाज त्यसमाथि पनि ग्रामीण भेगको थुप्रै घटना चलचित्रमा उद्घाटित भएको प्रतिक्रिया दिए । चलचित्र सशक्त बनेको उल्लेख गर्दै भट्टराईले निर्माण समूहलाई बधाई दिए ।

नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले शक्तिशाली विषयवस्तुमा चलचित्र पञ्चायत बनेको भन्दै प्रसशां गरे । चलचित्रमा घटेको घटना अब समाजमा नघटुन भन्ने सन्देश दिन खोजेको आफूले पाएको रिजालको भनाइ थियो ।

चलचित्रको ‘प्रिमियर ‘सो’मा उद्योगमन्त्री मातृकाप्रसाद यादव, पूर्व सभामुख ओनसरी घर्ती मगर, माओवादी केन्द्रका नेता नारायण दाहाल, काँग्रेस नेत्री उमा रेग्मी, प्रहरी अधिकारी सर्वेन्द्रनाथ खनाल, रमेश खरेल, छविलाल जोशी, चलचित्र निर्माता नरेन्द्र महर्जन, प्रदीपकुमार उदय, आकास अधिकारी, सोभित बस्नेत जयकिशन बस्नेतलगायत कलाकार र पत्रकारको सहभागिता थियो ।

गणेश गिरी, सुशान्त श्रेष्ठ र शंकर सुवेदीको लगानीमा बनेको चलचित्रको कार्यकारी निर्मातामा रवि अधिकारी छन् । शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्रको मुख्य भूमिकामा रहेका नायक सरोज खनाल र नायिका नीता ढुंगानाले शीर्ष नेताबाट तारिफ पाएकाले सही चलचित्रमा मेहनत गरेको महसुस भएको प्रतिक्रिया दिए ।

खनाल र ढुंगानासँगै उक्त चलचित्रमा रुपा राना, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ र रवि अधिकारीको समेत अभिनय छ । उक्त चलचित्रले अमेरिकामा २१७ चलचित्रमध्ये उत्कृष्ट अवार्ड पाइसकेको छ ।