समाचार

मन्त्रिपरिषद्को पूर्णता हुन चैतको पहिलो साता सम्म लाग्छ : सचिव भट्टराई

काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आगामी चैतको पहिलो सातामा मात्र सरकारले पूर्णता पाउने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठक शुरुअघि पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले तराई केन्द्रित दललाई पनि सरकारमा ल्याउन पहल जारी राखेको तथा राष्ट्रपति/सभामुख पदको निर्वाचन पनि यसैबीचमा भएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताए ।

“सरकारलाई राष्ट्रियस्वरुप दिन अन्य दललाई पनि समेटेर लैजान हामी खोजिरहेका छौँ, तराई केन्द्रित दलले माग गरेको संविधान संशोधनमा हामी जनताको हित र आवश्यकताका आधारमा लचिलो हुन तयार छौँ,” सचिव भट्टराईले भने, “हामी राष्ट्रपति/सभामुखमा सकेसम्म सर्वसम्मत र नभए धेरैभन्दा धेरै मत आओस् भनेर अरु दलसँग परामर्शमा छौँ ।”

पार्टी एकता वैशाख ९ गते

सचिव भट्टराईले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकता सम्भवतः आगामी वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन गर्ने गरी दुई पार्टीबीच छलफल भइरहेकोे जानकारी दिए ।

दुई पार्टीबीच एकताका लागि गठित कार्यदलले काम गरिरहेको पनि उनले बताए ।