पु.समाचार

प्रवेशद्वार उद्घाटन

भक्तपुर । जुद्ध बारुण यन्त्र भक्तपुर कार्यालयबाट भक्तपुर नगरपालिका – १ दूधपाटीस्थित ज्ञानकुञ्ज टोलमा जाने प्रवेशद्वार उद्घाटन गरिएको छ ।
स्थानीय टोलवासी र समाजसेवीद्वारा सङ्कलित रु सात लाखको लागतमा बनेको दमकल प्रवेशद्वारको जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल र प्रजिअ द्रोण पोखरेलले शुक्रबार संयुक्त रुपमा उद्घाटन गरे ।
दमकल कार्यालयसंँगै जोडिएको उक्त टोलमा सडक अभावका कारण दमकल पस्न नसकेकामा अहिले स्थानीयवासीकै पहलमा कार्यालयकै परिसरबाट टोलमा जाने प्रवेशद्वार बनेको हो । कार्यक्रममा दातालाई सम्मान गरिएको थियो ।
सो अवसरमा जुद्ध बारुण यन्त्रका प्रमुख विजय धौभडेल, ज्ञानकुञ्ज टोल समितिका अध्यक्ष जीतबहादुर श्रेष्ठ र सचिव ज्ञानबहादुर दुवाल, समाजसेवी सजन धौभडेललगायतले दमकल नियमित रुपमा सञ्चालन गर्न सबै सहयोगका लागि आह्वान गरे ।