उर्जा

अमेरिकाले बाँध, जलविद्युत् र इञ्जिनीयरिङ क्षेत्रमा प्राविधिक सहयोग गर्ने

काठमाडौँ । रक्षामन्त्री ईश्वर पोखरेलले नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत एलाइना बी टेपलिजसँग आज अपराह्न रक्षा मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिकाबीचको परस्पर सम्बन्ध र सहयोग आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा व्यक्त गरेका छन् ।

मन्त्री पोखरेलले नेपालको बृहत्तर विकासका लागि अमेरिकाको निरन्तर सहयोग अपेक्षित रहेको बताउँदै सरकारले मित्रराष्ट्र अमेरिकासँग आपसी सहयोग र सम्बन्ध थप विकास र बिस्तार गर्न चाहेको स्पष्ट गरे ।

राजदूत टेपलिजले नेपालको राजनीतिक परिवर्तनको स्वागत गर्दै नेपालको शान्ति प्रक्रिया विश्वमा नै अनुकरणीय भएको र वर्तमान सरकारले आफ्नो कार्यकाल पूरा गरेर नेपालको राजनीति स्थिर हुनेमा आफू आशावादी रहेको उल्लेख गरे ।

उहाँले नेपाली सेनाले विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट पीडितको उद्धार गर्ने र संयुक्त राष्ट्रसंघ मातहत रहेर शान्ति कायम राख्ने कुरामा पु¥याएको योगदानको सराहना गरे । उनले नेपाल–अमेरिकाबीच परस्पर सैनिक तालीमका माध्यमबाट दुवै देशको सैनिकको क्षमता अभिवृद्धि भएको बताउँदै नेपालमा बाँध, जलविद्युत् र अन्य इञ्जिनीयरिङ क्षेत्रमा प्राविधिक सहयोग प्रदान गरी क्षमता अभिवृद्धि गराइने वचन दिए ।