समाचार

तीन सदस्यद्वारा शपथ ग्रहण, राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने

भीष्मराज ओझा
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभा सदस्यमा मनोनीत तीन सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले आज संघीय संसद् भवन, नयाँ बानेश्वरमा सदस्य डा युवराज खतिवडा, रामनारायण विडारी र डा विमला पौड्याललाई शपथ गराएकी हुन् । । नेपालको संविधानअनुसार ज्येष्ठ सदस्यले शपथ गराउने व्यवस्था छ ।

यसअघि सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत शपथमा रोक लगाएका कारण यही फागुन २० गते राष्ट्रियसभाका सदस्यको शपथ कार्यक्रममा उनीहरु उपस्थित हुन पाएका थिएनन् ।

सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले फागुन २३ गते अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु नपर्ने आदेश जारी गरेपछि उनीहरुलाई शपथ लिन बाटो खुलेको हो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिश गरेका गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले संयुक्तरुपमा ‘असंवैधानिक रुपमा आफूहरूलाई मनोनीत नगरिएको’ भन्दै राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइ रिट निवेदन दायर गरेका थिए ।

सो रिट दायरपछि फागुन १३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासबाट राष्ट्रियसभा सदस्यका लागि मनोनयन भएका डा खतिवडा, विडारी र पौडेललाई माननीय सदस्यका हैसियतको शपथ नगर्न/नगराउन संघीय संसद् सचिवालय तथा विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो ।

तत्कालीन प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाको सदस्यमा मनोनयन लागि बस्नेत, पौडेल र जोशीको नाम गत माघ २६ गते सिफारिश गरेको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ती नाम फिर्ता लिएर फागुन ८ गते राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि डा खतिवडा, विडारी र डा पौड्यालको नाम सिफारिश गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई फागुन ८ गते नै राष्ट्रियसभा सदस्यमा मनोनित गरेका थिए । नेपालको संविधानमा सातै प्रदेशबाट आठ/आठ जनाका दरले निर्वाचित ५६ जना र राष्ट्रपतिबाट मनोनीत तीन जना गरी कूल ५९ सदस्यीय राष्ट्रियसभा गठन हुने प्रावधान छ ।

राष्ट्रियसभा सदस्यको शपथ लिए पनि डा खतिवडा, विडारी र डा पौड्यालले यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनमा भने मतदान गर्न पाउने छैनन्। राष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ ।

निर्वाचनको सिलसिलामा निर्वाचन आयोगले फागुन २२ गते मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गरिसकेको छ । उक्त सूचीमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता कायम छन् ।

सरकारको सिफारिशमा राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनीत तीन जना र प्रदेशसभा सदस्य राजीव गुरुङको नाम भने मतदाता नामावलीमा समावेश छैन । तसर्थ आज शपथ लिएका राष्ट्रियसभाका तीन सदस्यले यथाअवस्थामा मतदान गर्न नपाउने आयोगले जनाएको छ ।

तर सो सम्बन्धमा संघीय संसद् सचिवालयले लिखित जानकारी गराएको खण्डमा आयोग पदाधिकारी बैठकले बाधा अड्काउ फुकाउ सम्बन्धी केही निर्णय गर्नसक्ने अधिकार रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।