समाचार

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ- अध्यक्ष रिमाल

काठमाडौं । नेपालमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्व बृद्धिका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था छ । यहि व्यवस्थाका कारण पछिल्लो समयमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्वमा उल्लेख्य रुपमा बृद्धि भएको छ । केन्द्रीय तथा प्रादेशिक संसद तथा स्थानीय तहमा महिलाको प्रतिनिधित्व बृद्धि हुनुमा यहि आरक्षणले राजनीतिक दलहरुलाई बाध्य बनाएको हो भन्दा फरक पर्दैन ।

तर नेपालमा एउटा संस्था छ जहाँ पुरुषका लागि २५ प्रतिशत प्रतिनिधित्वको ग्यारेण्टी गरिएको छ । मुलुकको सवैभन्दा ठूलो श्रमिक संगठन, नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)ले आफ्नो संगठनको महिला केन्द्रीत कार्यक्रमहरुमा २५ प्रतिशत पुरुषको अनिवार्य प्रतिनिधित्वको नीतिगत व्यवस्था नै गरेको छ ।

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवशर पारेर जिफन्टले राजधानीमा आयोजना गरेको सातौं श्रमिक राष्ट्रिय महिला सम्मेलनका २ सय ४८ सहभागि मध्ये एक तिहाई पुरुष प्रतिनिधि थिए । महिला केन्द्रीत कार्यक्रमका प्रतिनिधि मध्ये हरेक तेश्रो व्यक्ति पुरुष हुनुपर्ने नीति भएका कारण पछिल्लो समयमा पुरुष प्रतिनिधित्व झण्डै एक तिहाई पुृगेको छ । विहिवार आयोजित सो महिला सम्मेलनका प्रतिनिधि ति पुरुषले महिलाको अधिकार स्थापित गर्न आगामी दिनमा गर्नुपर्ने कामका बारेमा आफ्नो धारणा राखे, छलफलमा भाग लिए र आफूहरु पनि महिलाको समान प्रतिनिधित्वका लागि कटिवद्ध रहेको प्रतिवद्धता जनाए ।

“अल्पसंख्यक हुँदा कस्तो अनुभूति हुँदो रहेछ भन्ने अनुभुत गराउन हामीले जिफन्टले आयोजना गर्ने महिला सम्वन्धि कार्यक्रममा महिला ७५ प्रतिशत र पुरुष २५ प्रतिशत प्रतिनिधि बनाउने विधि अवलम्वन गरेका हौं” प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका जिफन्ट अध्यक्ष विष्णु रिमालले भने “यसले पुरुषमा महिलाका विषयलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन गर्न सहयोग गरेको छ ।” उनले धेरै संस्थाले महिलाको प्रतिनिधित्वको विषयलाई गहनाको रुपमा मात्र अवलम्वन गरेको भन्दै जिफन्टले महिलालाई गहना मात्र नबनाएको बताए ।

महिलाका मुद्धालाई पुरुषले पनि उत्तिकै चासोका साथ बुझ्न आवश्यक रहेको धारणाका साथ १० बर्ष अघि देखि नै अवलम्वन गरिएको यो नीतिले सफलता प्राप्त गर्दै गएको छ । जिफन्ट महासचिव विष्णु लम्साल नीतिनिर्माण तहमा पुरुषको बोलवाला रहेको अवस्थामा सुरु गरिएको यो अवधारणाले पुरुषलाई पनि महिला अधिकारका विषयमा सचेत हुन प्रेरित गरेको बताए । जिफन्टले हरेक बर्ष आयोजना गर्ने महिला केन्द्रीत ४÷५ वटा कार्यक्रमहरु तथा घटक युनियनहरुका कार्यक्रमहरुमा यहि नीति अवलम्वन गर्ने गरिएको छ ।

कार्यक्रममा आइएलओका नेपाल प्रमुख रिचर्ड हावर्डले नेपालमा महिलाको नीतिनिर्माण तहमा बृद्धि भएको संख्या एसियामा नै देखाउन लायक भएको धारणा राखे । उनले नेपालमा अग्रणीस्थानमा महिलाको उपस्थीति बढ्नु उज्वल भविष्यको संकेत भएको भन्दै केन्द्रीय संसद, प्रदेशसभा, स्थानीय तहमा पनि उल्लेख्य रुपमा महिला प्रतिनिधित्व देखिएकोमा खुशी व्यक्त गरे ।

सो अवशरमा साँसद विन्दा पाण्डेले लामो संघर्षले महिला अधिकार स्थापित गर्ने पक्षमा धेरै उपलव्धी हासिल भएको भन्दै अझै पनि केहि विषयमा अभियान चलाउनु पर्ने धारणा राखे । उनले आमाको नामबाट नागरिकता प्राप्ती, छोरा र छोरीको पैतृक सम्पत्तिमा समान अधिकार जस्ता विषयमा अव अभियान सञ्चालन गर्नुपर्ने भन्दै नीतिगत रुपमा गर्नुपर्ने कामका लागि आफूहरुले संसदमा प्रयत्न गर्ने विचार राखे ।
कार्यक्रममा अखिल नेपाल महिला संघकी अध्यक्ष गोमा देवकोटा, डव्लुएसएमका प्रतिनिधि ब्रुनो, बुटवल उपमहानगरपालिकाकी उपमेयर समेत रहेकी जिफन्ट उपाध्यक्ष गोमादेवी आचार्य लगायतले मन्तव्य राखेका थिए ।