राजनीति

सीमांकनसहितको संविधान संशोधन प्रक्रिया अगाडि बढे मात्र सरकारमा जानेः महतो

राजविराज, सप्तरी । राष्ट्रिय जनता पार्टी (राजपा) मण्डलका अध्यक्ष राजेन्द्र महतोले सीमांकनसहितको संविधान संशोधन प्रक्रिया अगाडि बढेमात्र आफूहरु सरकारमा जाने बताएका छन् ।

गत वर्ष प्रहरीद्वारा मारिएका पाँच जना शहीदको सम्झानामा सप्तरीको राजविराजस्थित मलेठमा आज आयोजित प्रथम पुण्यतिथि तथा श्रद्धाञ्जलिसभामा उहाँले सो कुरा बताएका हुन् ।

ठूला पार्टीले बनाएको संविधान त्रुटिपूर्ण रहेकाले मधेशी, दलित, पिछडिएका वर्ग, मुस्लिम, महिला लगायतको अधिकार हुने गरी संविधान संशोधन हुन जरुरी रहेको र त्यसमा आफूहरु पूर्णरुपमा लागिरहेको अध्यक्ष महतोको भनाइ छ ।

उहाँले हामीलाई सत्ताभन्दा मधेशी, दलित र जनजातिको अधिकारको आवश्यकता छ भन्दै त्यसमा हाम्रो पार्टी पछि नहट्ने दाबीसमेत गरे। अब देशमा लडाईं झगडा समाप्त पार्नका लागि वाम गठबन्धनले पनि त्रुटिपूर्ण बनेको संविधानलाई संशोधन गर्नका लागि राजपा नेपालले पनि साथ दिने बताए ।

सोही क्रममा राजपाकै अर्का अध्यक्ष राजकिशोर यादवले नेपालमा बनेको संविधान तीन पार्टीले बनाएको र त्यो अधुरो र अपूर्ण संविधान रहेको बताउँदै संविधान संशोधन गरे मात्र पूरा संविधान बन्ने विचार राखे ।

सो कार्यक्रममा प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले शहीद परिवारको रोजगारी, शिक्षादीक्षा, सरकारी सुविधाको व्यवस्था गरिने बताए।

साथै मधेशमा प्रहरीद्वारा हत्या गरेका शहीदको स्मृतिमा शहीद स्मारक बनाउने घोषणासमेत मन्त्री सोनलले गरे । त्यस्तै समाजिक विकास मन्त्री नवलकिशोर साह र कृषिमन्त्री शौलेन्द्रप्रसाद साहले राजपा र फोरमले कहिले पनि मधेशी जनताको हितकोविपरीत काम नगर्ने वाचा गरे ।

गत २०७३ फागुन २३ गते नेकपा (एमाले)ले शुरु गरेको मेची–महाकाली अभियानअन्तर्गत मलेठमा आयोजना गरेको आमसभामा मधेशी कार्यकर्ता र प्रहरीबीच भएको झडपमा पाँच जना मधेशी कार्यकर्ताको मृत्यु भएको थियो ।