आर्थिक

अन्तःशुल्कको नक्कली स्टिकर बोक्ने तीनजना जरिवाना तिरेर रिहा

लहान । अन्तःशुल्कको नक्कली स्टिकरसहित प्रहरीले पक्राउ गरेका तीनजनालाई आन्तरिक राजश्व कार्यालय लहान सिरहाले आज बिगो बमोजिमको जरिवाना तिराएर रिहा गरेको छ ।

नक्कली स्टिकरसहित पक्राउ परेका लहान नगरपालिका–८ निवासी सुमितचन्द्र देव, लहान नगरपालिका–५ निवासी आनन्द साह र लहान नगरपालिका–३ निवासी सत्यनारायणलाई स्टिकरवापतको बिगो कायम गरी सो बमोजिमको जरिवाना तिराएर रिहा गरेको आन्तरिक राजश्व कार्यालय लहान सिरहाका प्रमुख गोविन्दप्रसाद अधिकारीले जानकारी दिए ।

अन्तःशुल्क ऐन, २०५८ अनुसार तीनैजनामाथि मुद्दा चलाइएको र सोही ऐनअन्तर्गत बरामद भएको स्टिकरको बिगो कायम गरी जरिवाना तिराएर तत्कालका लागि रिहा गरिने निर्णय लिइएको प्रमुख अधिकारीले बताए ।

सिरहाको लक्ष्मीपुर पतारीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले आइतबार अन्तःशुल्कको नक्कली स्टिकरसहित सुमितचन्द्र देव र लहान–५ का आनन्द साहलाई पक्राउ गरेको थियो । पक्राउ परेका दुवैजनाको बयानका आधारमा प्रहरीले लहान नगरपालिका–३ निवासी सत्यनारायण साहलाई पनि सोही दिन पक्राउ गरेको थियो ।

सिरहाको बरियारपट्टि गाउँपालिका–१ कचनारीको बडहरीगाउँ हुँदै स७प ५५५ नंको मोटरसाइकलमा आउँदै गरेका दुवैजनालाई रोकेर झोलाको तलाशी लिँदा अन्तःशुल्कको नक्कली स्टिकर पाइएको इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका प्रहरी निरीक्षक रविभूषण यादवले बताए ।

कर्मचारी अभावका कारण राजश्वको कर्मचारी अनुपस्थित हुने भएपछि सक्कलीमै मिसाएर नक्कली स्टिकर टाँस्न तस्करमार्फत नक्कली स्टिकर नेपाल भित्र्याइएको हुनसक्ने प्रहरीको आशंका छ ।

पक्राउ परेका तीनैजनाले नक्कली स्टिकर सीमावर्ती भारतीय बजार पिप्राहीबाट झोलामा हालेर ल्याएको बयान दिएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।