कृषि

चौबीस लाखको लगानीमा कृषि फार्म

बाबियाचौर, म्याग्दी । बेनी नगरपालिका– १० पात्लेखेतमा एक युवाले रु चौबीस लाख लगानी गरेर कृषि फार्म स्थापना गरेका छन् ।

छत्तीस वर्षीय भविन्द्र पाइजाले ‘आशिर्वाद कृषि फार्म’ स्थापना गरेर व्यावसायिक रुपमा बाख्रापालन र च्याउखेती शुरु गरेका हुन् । बाख्रा खरिद र पूर्वाधार निर्माणमा सो रकम लगानी गरेको पाइजाले बताए ।

उमेर समूह अनुसारका बाख्रा राख्नका लागि छुट्टाछुट्टै कोठा भएको खोर बनाइएको छ । फार्ममा हाल ६० वटा जमुनापारी, खरी, अजमेरी र बोयर जातका बाख्रा छन् । गत साउनमा स्थापना भएको सो फार्मबाट हालसम्म रु ८५ हजार बराबरको पाठापाठी बिक्री गरिसकेको उनले बताए ।

बाख्राको नश्ल सुधारका लागि रु ५० हजारमा बोयर जातको बोका पालेका छन् । बाख्रापालनसँगै उउनले ५५० मुडामा सिताके जातको च्याउखेतीसमेत गरेका छन् । बाख्राको आहारका लागि पाखोबारीमा तीन हजार ५०० डालेघाँसका बिरुवा रोप्नुभएको छ भने तीन रोपनी खेतमा जैघाँस लगाएका छन् ।

पाइजाले ११ वर्षसम्म दक्षिण कोरियामा काम गर्नुभएको थियो । कोरियामा मनग्य आम्दानी भए पनि दुःख धेरै भएको उहाँ बताउछन् । “केही गर्नुपर्छ भन्ने लागेर बाख्रापालन शुरु गरेको हुँ,” उनले भने, “बाख्राको संख्या बढाएर १५० पु¥याउने लक्ष्य छ ।” डेढ सय बाख्रा पाल्दा वार्षिक रु दश लाखसम्म आम्दानी गर्न सकिने पाइजाले बताए ।
मासु र पूजाआजाका लागि गाउँ र सदरमुकाम बेनी बजारमा खसीबोका खपत हुने गरेको छ ।