राजनीति

विपीका चेला देउवाद्वारा संसदीय दलमा मतदिने सबै साँसदलाई दिए धन्यबाद

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा आज सम्पन्न मतदानमा सभापति देउवाले कूल ६३ मतमध्ये ४४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहले १९ मत प्राप्त गरे ।

चार पटक प्रधानमन्त्री भइसकेका सभापति देउवा यो निर्वाचनपछि पुनः पार्टी संसदीय दलको नेता भएका छन् । उता नेता सिंह भने पार्टीको आन्तरिक निर्वाचनमा पहिलो पटक पराजित भएका छन् ।

काँग्रेसका संस्थापक नेता महामानव विपी कोइरालालाई आफ्नो राजनीतिक प्रेरणाको स्रोत मान्ने सभापति देउवाले विगतमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदै पार्टीका विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाली ससेका छन् ।

काँग्रेसका संस्थापक नेता लौहपुरुष गणेशमान सिंहका सुपुत्र नेता प्रकाशमान सिंह यसअघि पार्टीको जिल्ला सभापति, केन्द्रीय उपसभापति, महामन्त्री हुँदै सरकारका उपप्रधानमन्त्री भइसकेका छन् ।

पार्टीको १३ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवा यसअघि पनि संसदीय दलको नेता थिए । नेता सिंह १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

निर्वाचनपछि सभापति देउवाले निर्वाचनमा मतदान गर्ने सबैलाई धन्यवाद दिँदै लोकतान्त्रिक पार्टीमा लोकतन्त्रको जति बढी अभ्यास ग¥यो त्यति नै लोकतन्त्र बलियो हुन्छ भन्नेमा आफूले विश्वास लिएको बताए ।

मतदानपछि कुरा गर्दै नेता सिंहले पार्टीमा नेता कार्यकर्ताले नेतृत्व परिवर्तनको चाहना गरेबमोजिम आफूले उम्मेदवारी दिएको बताउँदै मतदान गर्ने सबैलाई धन्यवाद दिए ।

निर्वाचनपछि वरिष्ठ नेता रामचन्दै पौडेलले सभापति देउवालाई बधाई तथा शुभकामना दिएका छन् । साथै, उनले नेता सिंहलाई प्रजातान्त्रिक प्रक्रियाअनुरुप निर्वाचनमा प्रतिस्पर्धा गरेकोमा धन्यवाद दिएका छन् ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् ।

पार्टीको संसदीय दलको विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । संसदीय दलको नेताको निर्वाचनपछि मात्र संसदीय दल कार्यसमितिको निर्वाचन हुने पार्टी कार्यालयले जनाएको छ ।

राष्ट्रियसभा दलको नेता प्रतिनिधिसभाको संसदीय दलको नेताले नै तोक्ने काँग्रेस संसदीय दलको विधानमा उल्लेख छ । त्यस्तै, राष्ट्रियसभाका प्रमुख सचेतक प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिशमा संसदीय दलको नेताले नै चयन गर्ने व्यवस्था रहेको छ ।

उनन्साठी सदस्यीय राष्ट्रियसभामा काँग्रेसका १३ सांसद छन् । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा निर्वाचन गत माघ २४ गते सम्पन्न भएको थियो ।