कृषि

दुग्धजन्य उत्पादनको बजार बढ्दै

मंगलबारे, इलाम । जिल्लामा दुग्धजन्य उत्पादनमा वृद्धि भएको छ । माग बढेसँगै उत्पादन बढेको हो । जिल्लाका पूर्वी क्षेत्रमा रहेका व्यापारिक केन्द्रहरु फिक्कल, पशुपतिनगर, कन्याम, हर्कटेलगायत बजारमा मात्रै दैनिक ३० हजारदेखि ५० हजार लिटरसम्म दूध बिक्री हुने गरेको छ । यहाँ रहेका डेरी तथा चिज उद्योगले सो दूध खपत गर्ने गरेका छन् ।

यहाँका बजारमा दूधबाट उत्पादित ललीपप, छुर्पी, बम्बैसन र पनिरको माग बढेको छ । दुग्धजन्य उत्पादनको माग बढ्दै गएपछि किसान पशुपालनतर्फ आकर्षित हुन थालेका छन् । जिल्ला बाहिरबाट आउने पर्यटकले कोसेलीका रुपमा यहाँ उत्पादित दुग्धजन्य उत्पादन लैजाने गरेका छन् ।

छुर्पी र घ्यू उत्पादन गर्ने ३०० को हाराहारीमा रहेका डेरी उद्योगले दैनिक २५ हजार लिटर दूध खपत गर्ने गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । यस वर्ष जिल्लामा रु २० करोड ७९ लाख बराबरको छुर्पीको कारोबार भएको छ भने रु ५१ करोड ४० लाख बराबरको घ्यू बिक्री भएको छ ।

सहकारीमार्फत दुग्ध संस्थानमा भन्दा निजी डेरीले महँगो मूल्यमा दूध खरिद गर्न थालेपछि किसान डेरीतर्फ आकर्षित भएका हुन् । निजी उद्योगले प्रतिलिटर रु ६० देखि रु १०० सम्ममा दूध खरिद गरे पनि दुग्ध संस्थानले रु ३० देखि रु ६० सम्म मात्र दिने गरेको छ ।