राजनीति

निजी क्षेत्रलाई प्रोत्साहन गर्दै प्रदेशको विकास पहिलो प्राथमिकताः मुख्यमन्त्री राई

धनकुटा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्योग व्यवसाय सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्दै प्रदेशको विकास पहिलो प्राथमिकता भएको बताएका छन् ।

आइतबार धनकुटा सदरमुकाममा आयोजित चौथो प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनीको उद्घाटन गर्दै मुख्यमन्त्री राईले मुलुकमा राजनीतिक संक्रमणकाल सकिएसँगै निजी क्षेत्रलाई सुरक्षित लगानीको सुनिश्चित गरिने बताए ।

प्रदेशसभामा व्यवसायमैत्री कानुन निर्माण गरी पूर्वक्षेत्रको प्रचुर सम्भावना रहेको कृषि, पर्यटन, उद्योग, ऊर्जा क्षेत्रमा निजी क्षेत्रलाई सुरक्षित लगानी गर्ने वातावरण तयार गरिने बताए ।

उद्योग वाणिज्य संघ, धनकुटाले चौथो पटक धनकुटामा आयोजना गरेको ‘कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, समुन्नत प्रदेश नं. १ को आर्थिक विकासको आधार’ भन्ने नाराका साथ नेपाल एकीकृत व्यापार रणनीति (एनटिआइएस) मा समावेश वस्तु, ओद्यौगिक, व्यापारिक, हस्तकला, कृषि तथा जडिबुटी, घरेलु उद्योगबाट उत्पादित वस्तु प्रर्दशनीमा राखिएका छन् ।

महोत्सवमा धनकुटाको विकासमा योगदान पु¥याउने व्यवसायी कुलबहादुर प्रधानलाई मरणोपरान्त सम्मान र कृष्णराज शाक्य, हास्य कलाकार सुदिप चापागाँई, साहित्यकार एलपी जोशी र राससका सञ्चारकर्मी खगेन्द्रप्रसाद घिमिरेलाई सम्मानपत्रद्वारा सम्मान गरियो ।

यही फागुन ३० गतेसम्म सञ्चालन हुने मेलामा घरेलु उद्योग, जातीय संस्कृतिअनुसारका खानाका परिकार, तयारी कपडा, खाद्य वस्तु, घरेलु उद्योगका उत्पादन, दुधबाट बनेका विभिन्न परिकारका स्टल रहेका छन् । मेलामा प्रदेशका विभिन्न जिल्लाबाट सहभागिता भएको र केही जिल्लाबाट आउनेक्रम जारी रहेको बताइएको छ ।