स्वास्थ्य

महाकाली अञ्चल अस्पताल सञ्चालनमा

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालका सबै सेवा आइतबारदेखि सञ्चालन भएका छन् । शनिबार अस्पतालमा उपचाररत भीमदत्तदनगरपालिका–११ भुजेलाका ४६ वर्षीया कलावती सार्कीको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तले अञ्चल अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि नै दुव्र्यवहार गरेपछि अस्पतालका सबै सेवा ठप्प गरिएको थियो ।

आइतबार जिल्ला प्रशासन कार्यालयमा मृतकका आफन्त र अस्पताल प्रशासनबीच भएको सहमतिपछि अस्पताल सञ्चालन भएको हो । मृतकको शवपरीक्षणका लागि धनगढीबाट चिकित्सक बोलाउने र घटनाको छानबिनका लागि विज्ञ टोली गठन गरी छानबिन गरिदिन प्रदेश नं ७ को सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए ।

एक साताअघि महाकाली अञ्चल अस्पतालमै पाठेघरको शल्यक्रिया गरेकी सार्कीलाई स्वास्थ्यमा समस्या भएपछि शुक्रबार राति अस्पताल ल्याइएको थियो । अस्पतालमा उपचारमा रहेकी सार्कीको शनिबार बिहान मृत्यु भएपछि मतृकका आफन्त आक्रोशित बनेका थिए ।