राजनीति

शिक्षा क्षेत्रलाई हस्तक्षेप मुक्त बनाइनेछ : मुख्यमन्त्री राउत

महेन्द्रनगर, धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने शिक्षा नीति ल्याउने घोषणा गरेका छन् ।

प्याबसन प्रदेश नं.२ को प्रथम साधारणसभा तथा सम्मान कार्यक्रमलाई आज जनकपुरमा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले वर्तमान शिक्षा नीतिले विकास सम्भव नरहेको बताए ।

उनले सामुदायिक विद्यालय सत्तारुढ दलको कार्यकर्ता भर्ना गर्ने थलो बनेको बताउँदै यसको अन्त्य गर्ने नीतिको आवश्यकता रहेको बताए ।

मुख्यमन्त्री राउतले योग्य र सक्षम शिक्षक भएपनि सामुदायिक विद्यालयको पठनपाठन स्तरीय बन्न नसकेको गुनासो गरे । शिक्षकहरु पार्टीको पछि लागेकाले सामुदायिक विद्यालयमा पठनपाठनको स्तर खस्किँदै गएको उनको कथन थियो ।

मुख्यमन्त्री राउतले शिक्षा क्षेत्रमा माफियाको वर्चश्व बढ्न नदिन वर्षैपिच्छे भइरहेको पाठ्यक्रम परिवर्तन रोक्नुपर्ने धारणा राखे ।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले प्रदेश शिक्षित भए सबै क्षेत्रको विकास हुने धारणा राखे ।

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश नंं २ को शिक्षाको अवस्थालाई कहालिलाग्दो बताउँदै शिक्षा क्षेत्रमा सुधारका लागि सबैको सहयोगको आवश्यकता रहेको बताए ।

कार्यक्रममा शहीद वीरेन्द्र विच्छाकी श्रीमती शिल्पी विच्छालाई रु पाँच हजार एक सय नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । प्याब्सनले प्रदेश नम्बर २ का मुख्यमन्त्री राउतसहित आर्थिक मामिला तथा विकास मन्त्री विजयकुमार यादव, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव, राज्यमन्त्रीत्रय सरोज सिंह कुशवाहा, योगेन्द्र राय यादव र उषा यादवलाई दोसल्ला ओढाएर सम्मानसमेत गरेको थियो ।