अन्तर्राष्ट्रिय

दक्षिण कोरियाली विशेषदूत उत्तर कोरिया जादै

सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन–जाए इनको विशेषदूतका रुपमा दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा सल्लाहकारले उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् ।

सो कुराको जानकारी दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसलाई उद्धृतगर्दै दक्षिण कोरियाको सरकारी समाचार समिति, योनहापले आइतबार जनाएको छ ।

सो समाचार समितिले आइतबार सम्प्रेषण गरेको समाचारमा सोमबार नै पाँच सदस्यीय एक प्रतिनिधिमण्डलले उत्तरको भ्रमण गर्ने भएको छ । सो भ्रमणदलमा दक्षिण कोरियाको गुप्तचर विभागका प्रमुख पनि रहेको बताइएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति इनका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ यी योङ्को नेतृत्वमा रहने पाँच सदस्यीय अधिकारीहरुको प्रतिनिधिमण्डल सो भ्रमण दलमा रहने उक्त समाचार समितिले जानकारी दिएको छ ।

उत्तर कोरियाले दुई देशबीच उच्चस्तरीय बैठकका लागि प्रस्ताव गरिसकेको छ । तर सो बैठक अहिले नै गर्नु अलिक चाँडो हुनसक्ने प्रतिक्रिया राष्ट्रपति इनले दिएका थिए ।

हालैमात्र पनि उत्तर कोरिया दक्षिण कोरियासँग विनाशर्त वार्ता गर्न इच्छुक रहेको कुरा बाहिर आएको थियो । तर त्यस विषयमा दक्षिणको कुनै प्रतिक्रिया भने आएको छैन ।

यही फेब्रुअरी ९ देखि १८ सम्म दक्षिण कोरियामा सम्पन्न भएको ओलम्पिक खेलकूदमा यी दुई देशका प्रतिनिधिको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको महसुश गरिएको छ ।

यस खेलकूदको उद्घाटन र समापन समारोहका क्रममा उत्तर कोरियाले आफ्नो देशको तर्फबाट उच्चस्तरीय प्रतिनिधि दक्षिण कोरिया पठाएको थियो । ती प्रतिनिधिहरुबाट भएका वार्ता र भ्रमण आदानप्रदानबाट यी दुई देशबीच सम्बन्धमा सुधार आएको पाइएको समाचारमा जनाइएको छ ।

यसै खेलकूदका समयमा विकसित सम्बन्धका कारण उत्तर कोरियाको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डलले अमेरिकी अधिकारीसँग पनि भेटवार्ता गर्न चाहेको समाचार पनि हालै सार्वजनिक भएको थियो ।

त्यसैगरी केही दिनअघिमात्र पनि दक्षिण कोरियाली राष्ट्रपति इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पनि फोनवार्ता भएको पनि समाचारमा आएको थियो ।

सो वार्ताका क्रममा कोरियाली राष्ट्रपति मुनले उक्त ओलम्पिक खेलकूद, त्यसको समापन, सो खेलकूदका कारण उत्तर र दक्षिण कोरियाबीच बढ्दो सम्बन्ध र पछिल्लो कार्यकारी तहका अधिकारीहटरुबीचको वार्तामा भएको प्रगतिका बारेमा जानकारी गराएका थिए ।

सो फोनवार्ताका क्रममा उनीहरुबीच उत्तर कोरियालाई निशस्त्रीकरणका लागि सहमत गराउने र उसँग शान्तिवार्ताका लागि आवश्यक पहल गर्ने विषयमा पनि कुराकानी भएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्युहाउसले भनेको छ ।

दक्षिण कोरियामा आयोजना भएको यस शीतकालीन खेलकूदका कारण उत्तर र दक्षिण कोरियाकासाथै उत्तर कोरियाको अरु देशसँगको सम्बन्धमा पनि सुधारको संकेत देखिएको अनुमान गरिएको छ ।