खेलकुद

विश्वकप छनोट जिम्बावेले नेपाललाई ३८१ रनको चुनौती दियो

काठमाडौँ । आइसिसी विश्वकप छनोटअन्तर्गत आज भएको पहिलो खेलमा नेपालले ३८१ रनको विजय लक्ष्य पाएको छ ।

जिम्बाब्वेस्थित क्वीन्स स्पोर्टस क्लबमा जारी खेलमा टस जितेर पहिले व्याटिङ रोजेको आयोजक जिम्बाब्वेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३८० रनको योगफल बनायो ।

जिम्बाब्वेका लागि शिकन्दर राजा र ब्रेन्डन टेलरले शतक प्रहार गरे । शिकन्दरले सर्वाधिक १२३ रन जोडे भने ब्रेन्डन १०० रन जोड्दै आउट भए । त्यसैगरी जिम्बाब्वेका सोलोमन मिरेले ५२ रन बनाए ।

त्यसैगरी, सेफास झुवाओले ४१, क्रेग एर्भिनले ३४ तथा ह्यामिल्टन मासाकाड्जाले १७ रन जोडे ।

नेपालका लागि वसन्त रेग्मीले दुई विकेट लिए भने सोमपाल कामी, ललितनारायण राजवंशी र सन्दिप लामिछानेले एक÷एक विकेट लिए । नेपाल अहिले जवाफी व्याटिङमा उत्रेको छ ।