समाचार

उच्च स्तरिय राष्ट्रिय सुरक्षा तालिमको क्षत्रीद्वारा समुद्घाटन

काठमाण्डौ । नेपाल सरकार रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको तेश्रो उच्च स्तरिय राष्ट्रिय सुरक्षा तालिमको आईतबार शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा प्रधान सेनापति राजेन्द्र क्षत्री समुद्घाटन गरेका छन् ।

उक्त तालिमको समुद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दैै प्रधान सेनापति  क्षत्रीले यस तालिमले राष्ट्रिय सुरक्षाको संयन्त्रहरुलाई सहकार्यको लागि प्रोत्साहन गरी आपसी विश्वास, एक ढिक्कापन तथा सामुहिक उद्धेश्यको भावना जागृत गराई राष्ट्रिय सुरक्षाका विषयमा एकीकृत रुपले अगाडी बढ्न योगदान पुग्ने विश्वास गर्नुको साथै राष्ट्रिय सुरक्षाका विविध पक्षमा विस्तृत जानकारी हासिल हुन गई यसबाट राष्ट्रिय स्वार्थ तथा राष्ट्रिय विकासका सम्बन्धमा विभिन्न मन्त्रालयहरु तथा विभागहरु बीच आपसी सहयोग र सहकार्य गर्न मद्दत पुग्ने समेत बताएका छन् ।

मन्तव्य कै क्रममा उनले विविध कारणहरुले थुप्रै चुनौतिहरु देखा परिरहेको अवस्थामा हालको सुरक्षा वातावरण परिवर्तनशिल, अनिश्चित, जटिल तथा अस्पस्ट रहेको बताए । सोही क्रममा उहाँले परम्परागत रुपमा राष्ट्रिय सुरक्षालाई सैनिक शक्तिसँग जोडेर हेर्ने गरिएकोमा हाल आएर राष्ट्रिय सुरक्षाको दायरा बृहत हुन गई यसले मानव सुरक्षा, खाद्य सुरक्षा, उर्जा सुरक्षा, वातावरण सुरक्षा जस्ता विषयहरुलाई समेटेको उल्लेख गरेका छन् । सम्बोधन कै क्रममा उहाँले उक्त तालिम सञ्चालनको लागि रक्षा मन्त्रालयले पु¥याएको सहयोगको लागि धन्यवाद समेत व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा रक्षा सचिव विनोद केसीले आफ्नो मन्तव्य राखेका थिए भने सैनिक कमाण्ड तथा स्टाफ कलेजका प्रल्हाद थापाले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए ।

फागुन ३० गतेसम्म सञ्चालन हुने उक्त तालिममा नेपाल सरकारका विभिन्न निकायका पदाधिकारीहरु, नेपाली सेना लगायत अन्य सुरक्षा निकायका रथीवृन्द तथा अधिकृतहरु गरि जम्मा २५ जना सहभागी छन्।

उक्त समुद्घाटन समारोहमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाल सरकार तथा अन्य सुरक्षा अङ्गका विशिष्ट व्यक्तिहरु, नेपाली सेनाका रथीवृन्द, विभिन्न विषयका विज्ञहरु, बुद्धिजीवीहरु, सञ्चारकर्मीहरु एवं सैनिक अधिकृतहरुको उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ ।