समाचार

विवाह दर्ता र नागरिकता नहुँदा राज्यको सेवाबाट वञ्चित

महोत्तरी । विवाह दर्ता र नागरिकता नभएपछि महोत्तरी औरही नगरपालिका– ६ बैरियाकी ३० वर्षीया एकल महिला सोनावतीदेवी रायले राज्यबाट पाउने हरेक सेवा सुविधाबाट वञ्चित भएकी छिन् । हुनेखाने उमेरमा ७ वर्षअघि श्रीमान् नथुनी यादवको मृत्यु भएपछि सोनावतीलाई अहिले जीवनयापन गर्न कठिनाइ भएको छ ।

घरका अभिभावकले आवश्यक परेको खण्डमा पैसा नदिएपछि सोनावतीलाई बाँकी जीवनयापन गर्न समस्या भएको हो । उनको एकमात्र १२ वर्षका छोरा राहुलले विद्यालयमा शिक्षादिक्षा पाउनसकेका छैनन् । उचित शिक्षादिक्षा एवं संरक्षणको अभावमा दिनभरी भौतारिँदा छोरा राहुलको भविष्यलाई लिएर आफू चिन्तित रहेको सोनावतीले बताए ।

आफुुसँग नागरिकता एवं विवाह दर्ता नभएकै कारण सामाजिक सुरक्षा भत्ता पाउन नसकेको उनले गुनासो गरे।
सो वडाका वडाअध्यक्ष नरेश यादवले अब आफूले नागरिकता एवं विवाह दर्ताका लागि सहयोग गरिने प्रतिबद्धता जनाए ।

विवाह भएको ३५ दिनको अवधिमा विवाह दर्ता बनाए कुनै किसिमको यस्ता समस्या समाजमा सिर्जना नहुने इलाका प्रशासन कार्यालय गौशालाका प्रशासकीय अधिकृत कामेश्वर यादवले बताए ।