कृषि

गाईपालनमा महिलाको आकर्षण बढ्दो

सुशिला रेग्मी/ रामपुर, पाल्पा । आर्थिक रुपमा परनिर्भर हुँदै आइरहेका पाल्पाका महिला पछिल्लो समय आयआर्जनका निम्ति गाईपालनमा आकर्षित बन्दै गएका छन् ।

गाईपालन व्यवसाय शुरु गरेपछि महिला परनिर्भर हुनुपर्ने अवस्था हट्दै गएको छ । जिल्लाको माथागढी गाउँपालिका २ रुप्सेका रमा घर्ती गाईपालन व्यवसायबाट आत्मनिर्भर बन्दै गएको छ । उनी जिल्लामै गाईपालन व्यवसायमा सफल व्यवसायीका रुपमा चिनिन्छन् । आज भन्दा झण्डै दशवर्ष अघि दुईवटा गाईबाट व्यवसाय चलाएकी घर्तीले अहिले ९ वटा जर्सी र होलस्टिन जातको गाई पालेका छन्।

दैनिक एक सय लिटर दूध बिक्रीबाट उनले मासिक रु एक लाखसम्म आम्दानी गर्छन् । “गाईबाट नसोचेको आम्दानी भएको छ, पहिला घरभित्रको काममा मात्र सीमित थिएँ, अहिले जिल्लामै नमूना व्यवसायीका रुपमा चिनिन पाउँदा गौरव लागेको छ” उनले भनिन् । घर्ती पाल्पा क्षेत्र नं १ प्रदेश ‘ख’ बाट समानुपातिकतर्फको प्रदेशसभा सदस्य छन् ।

त्यस्तै तानसेन नगरपालिका अर्गलीका पवित्रा गैरेको पनि आम्दानीको बलियो र दिगो स्रोत गाईपालन व्यवसाय नै बनेको छ । तत्कालिन माओवादीका पूर्वलडाकु गैरेले विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा नै गाईफार्म सञ्चालन गरेकी छन्् । सो फार्ममा हाल १८ वटा गाई छन् । दैनिक ७० लिटरसम्म दूध बिक्रीगरे वापत उनले मासिक रु ५० हजारसम्म आम्दानी गर्दै आएको बताउछिन्् ।

गैरेले रु पाँच लाखको लागतमा यो व्यवसाय शुरु गरेका हुन् । आर्थिक विकासबिना सामाजिक विकास गर्न नसिकने भएकाले आर्थिक सबलीकरणका लागि यो व्यवसाय सञ्चालन गरेको उनको भनाई छ ।

तानसेन नगरपालिका– ९ दमकडाका सुमा बञ्जाडे पनि वैदेशिक रोजगारी छाडेर गाईपालन व्यवसायमा लागेका छन् । छ वर्षसम्म विदेशमा काम गरेर स्वदेश फर्केकी बञ्जाडेको फार्ममा अहिले दशवटा उन्नत जातका गाई छन् । दैनिक ६० देखि ७० लिटरसम्म दूध बिक्री गर्ने बञ्जाडेले मासिक रु ५० हजारसम्म आम्दानी लिँदै आएको बताउछन् ।

“घरको आर्थिक समस्याका कारण महिला भएर पनि बाध्य भई विदेश पुग्नुपरेको छ, उनले भने– विदेशमा कमाएको त्यही धनले अहिले गाईफार्ममा लगानी गरेको छु ।”

त्यस्तै रामपुर नगरपालिका– ६ का विष्णुदेवी गैरे पनि चारवर्ष अघिदेखि गाईफार्म सञ्चालन गरिरहेकी छन्। दूध बिक्रीबाट मासिक रु ५० हजार बराबरको आम्दानी लिँदै आउनुभएकी गैरेको फार्ममा अहिले जर्सी र होलस्टिन जातका दशवटा गाई छन् । जीवनमा निकै दुःख झलेकी गैरेलाई गाईपालन व्यवसायबाट मनग्य आम्दानी हुनथालेपछि उनी यो व्यवसायबाट खुशी छन् ।

महिलाले केही गर्न सक्दैनन् भन्ने पुरानो मानसिकताबाट अब मुक्त हुनुपर्छ, हिम्मत गरें नसक्ने पो के छ र , “मेहनत गरियो भने अवश्य पनि सफलता पाइदोरहेछ भन्ने उदाहरण बनेका छन्– पाल्पाली महिला