प्रवास

थाई लगानी आकर्षित गर्न बैंककमा कार्यशाला

थाइल्याण्ड । नेपालमा उपलब्ध लगानीका अवसरको प्रचारप्रसारका साथै नेपाल र थाइल्याण्डका उद्योगपति–व्यापारीबीच सम्बन्ध स्थापना गर्ने उद्देश्यले गत मंगलबार बैंककमा लगानी प्रवर्धन कार्यशाला आयोजना गरियो ।

थाइल्याण्डका उद्योगपति, व्यवसायी, सञ्चारकर्मी, थाइ उद्योग संघ, थाइ वाणिज्य संघका प्रतिनिधि, थाइल्याण्डको लगानी बोर्डका पदाधिकारी, नेपाल–थाइल्याण्ड उद्योग वाणिज्य संघ, गैरआवासीय नेपाली संघ, थाइल्याण्ड–नेपाल संगठनका सदस्यहरुको उल्लेख्य उपस्थितिमा भएको कार्यशालामा नेपाली र थाई उद्योगपति, व्यवसायी र व्यापारीबीच पारस्परिक व्यापार प्रवद्र्धनका निम्ति सम्बन्ध विस्तार हुनुपर्नेमा जोड दिइएको थियो ।

कार्यशालामा थाइल्याण्ड उद्योग संघका उपाध्यक्ष क्रेइङक्राई थिनुकुलले थाइल्याण्ड र नेपालका उद्यमी–व्यवसायीलाई एकापसमा व्यावसायिक सम्बन्ध एवं सम्पर्क विस्तारका निम्ति आह्वान गरेको बैंककस्थित नेपालको राजदूतावासले जनाएको छ ।

थाइल्याण्डका लागि नेपालका राजदूत खगनाथ अधिकारीले वैदेशिक लगानीको सुरक्षाप्रति प्रतिबद्ध स्थिर सरकार नेपालमा गठन भएको जानकारी दिँदै ढुक्क भएर लगानी गर्न थाइ उद्यमीलाई अनुरोध गरे ।

थाइल्याण्ड वाणिज्य संघका अध्यक्ष चेन नाम्चाइसिरीले नेपाली चिया, औषधिजन्य जडिबुटी, हस्तकलाका सामग्री थाइल्याण्ड निर्यात हुनसक्ने बताए ।

थाइल्याण्ड–नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण शिभाक्रिस्कुलले प्राकृतिक स्रोत र साधनले भरिपूर्ण नेपालमा लगानी गरेर नाफा कमाउने अवसर नगुमाउन थाई लगानीकर्तालाई अनुरोध गरे ।

नेपाल लगानी बोर्डका सहसचिव उत्तम वाग्लेले वैदेशिक लगानीका निम्ति नेपाल सरकारले गरेका नीतिगत सुधार, संस्थागत व्यवस्थापन, लगानी प्रक्रिया, परियोजना र उच्च प्रतिफल प्रदान गर्ने लगानीका क्षेत्रबारे जानकारी दिएका थिए ।

कार्यशालापछि नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यम विकास समितिका अध्यक्ष कमला श्रेष्ठ नेतृत्वको नेपाली उद्यमी–व्यवसायीसँग थाइल्याण्डका व्यापारी–उद्यमीले व्यापारिक छलफलसमेत गरेका उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।