शिक्षा

केन्द्रीय पुस्तकालय भवन जीर्ण

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनमा स्थान अभाव बन्दै गएको छ । विसं २०७२ वैशाख १२ गते आएको भूकम्प तथा त्यसपछिका पराकम्पका कारण भवनको उत्तरपट्टि चर्केको र अग्रभागको माथिल्लो तला प्रयोगविहीन भएको छ ।

विसं २०२१ मा निर्माण गरिएको उक्त भवन जीर्ण बन्दै गएपछि नयाँ भवन तत्काल बनाउन आवश्यक देखिएको छ । भूकम्प पुनःनिर्माण प्राधिकरणले करिब रु १७ करोडको लागतमा अर्को भवन निर्माण गर्ने आश्वासन दिएको भए पनि त्यस कार्यका लागि कुनै पनि गृहकार्य शुरु नभएको पुस्तकालयका प्रमुख इन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय तहमा प्राप्त हुने भाषा, संस्कृति, कला, दर्शन, धार्मिक विज्ञान, सामाजिकलगायत सबै विषयका पुस्तक तथा पाठ्य सामग्री पुस्तकालयमा पाइन्छन् ।

भवन जीर्ण बन्दै गएपछि कर्मचारीले त्रासदीपूर्ण वातावरणमा कार्य सम्पादन गर्नु परेको र त्यहाँ अध्ययनका लागि आउने विद्यार्थी पनि डराउनुपर्ने अवस्था छ । पुस्तकालयको ३३ हजार ७०० वर्ग फिटको क्षेत्रफल रहेको भएपनि २०१६ सालदेखिका कृति तथा पुस्तकका संग्रह सुरक्षित राख्नुपरेकाले पनि समस्या देखिएको छ । विभिन्न मुलुकबाट राजदूतलगायत कूटनीतिज्ञसमेत उक्त पुस्तकालयको अवस्था बुझ्न आउने गरेको पुस्तकालयले जनाएको छ । विदेशी विश्वविद्यालयका विद्यार्थीसमेत अध्ययन भ्रमणमा यहाँ आउने गरेका छन् ।