मनोरञ्जन

गायक उदित नारायण जन्मस्थल भारदहमा

राजविराज । झण्डै दुई दशकपछि चर्चित गायक उदितनारायण झा बुधबार आफ्नो जन्मस्थल सप्तरीको भारदह आइपुगेका छन् । गायक झा जेठी पत्नी रञ्जनासहित हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहस्थित आफ्नो घरमा बुधबार आएको स्थानीयवासी आकाशराज भण्डारीले जानकारी दिए । गायन पेशामा लागेर लामो समयदेखि भारतको मुम्बईमा बसोबास गर्दै आएपनि उनका दाजुभाइ भने भारदहस्थित घरमै बस्दै आएका थिए ।

स्थानिय पत्रकारसँग भारदहमा छोटो कुराकानी गर्दै गायक झाले आफू एक हप्ता जन्मथलोमा बस्ने र लामो समयदेखि भेटघाट नभएका साथीभाइसँग भेटघाटसमेत गर्ने बताए । साथै मिथिला क्षेत्रमा मनाइने होली पर्वसमेत यसपालि यहीँ आफ्नो जन्मथलो भारदहमै मनाउने बताएका छन् ।

गायक उदितनारायण आफ्नो जन्मथलो आउनेबित्तिकै सबैभन्दा पहिले भारदहस्थित कंकालनी मन्दिरमा पूजापाठ गरेका थिए। सो क्रममा पूजा गर्न मन्दिर पुग्दा उनीलाई हेर्न स्थानीयवासीको भीड लागेको थियो । मन्दिर परिसरमा पालैपालो उनीसँग सेल्फी लिनेहरुको पनि अत्यधिक भीड लागेको थियो ।

गायक झा आएको थाहा पाउनेबित्तिकै उनीसँग भेट्न जानेहरुको घुइँचो लागेको स्थानीयवासी भण्डारीले बताए । बलिउडमा स्थापित भएपछि दीपा झासँग दोस्रो विवाह गरेलगत्तै जेठी पत्नी रञ्जनासँग उनको सम्बन्ध बिग्रेको थियो । उदित र रञ्जनाको सम्बन्धका कारण भारतमा विवाद समेत भएको थियो । तर अहिले दुवैको सम्बन्ध सुमधुर भएको पारिवारिक स्रोतले जनाएको छ ।