मनोरञ्जन

होरी गायनमा खर्साल युवा समूह प्रथम

जनकपुरधाम । होरी गीतको संरक्षण गर्ने उद्देश्यले आज यहाँ आयोजित होरी गायन प्रतियोगितामा सप्तरी जिल्लाका खर्साल युवा होरी समूह प्रथम भएको छ ।

त्यस्तै, प्रतियोगितामा महोत्तरीको सिंहासिनी होरी समूह द्वितीय र धनुषाको महिला होरी तृतीय भएका छन् । मिथिला नाट्य कला परिषद्द्वारा आयोजित सो प्रतियोगितामा प्रथम हुनेलाई पाँच तोला बराबरका चाँदीको शिल्ड र पदक प्रदान गरिएको छ ।

त्यस्तै, द्वितीय हुनेलाई चार तोला चाँदी बराबरको शिल्ड र पदक तथा तृतीय हुनेलाई तीन तोला बराबरको चाँदीको शिल्ड र पदक प्रदान गरिएको छ । सो अवसरमा जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले होरी गीत लोप हुँदै गएकामा चिन्ता व्यक्त गरे ।

प्रतियोगितामा मिथिला नाट्य कला परिषद्का कलाकार सुनिल मल्लिक, संगीता देव, अनिता रानी मण्डल, परमेश झा, रामनारायण ठाकुर, मदन ठाकुर, सुनिल मिश्र, सुरेन्द्र राय, शैलेन्द्र मल्लिकले होरी गीत गाएका थिए ।

होरी उत्सवका सन्दर्भमा परिषद्ले भोलि महामूर्ख सम्मेलन र हास्य कवि गोष्ठीको आयोजना गर्ने भएको छ । सो सम्मेलनमा एक जनालाई महामूर्ख र सात जनालाई पटमूर्खको उपाधि प्रदान गर्ने जनाइएको छ ।