कृषि

च्याउखेती गर्न प्राविधिक ज्ञानको कमी

ललितपुर । च्याउखेतीबाट मनग्य आम्दानी गर्नसक्ने सम्भावना हुँदाहुँदै ज्ञान र प्रविधिको कमीले किसानले पर्याप्त फाइदा लिन सकेका छैनन् ।
किसानसँग पर्याप्त स्रोत नभएको र भएकाले पनि ज्ञानको उपयोग गर्न नसकेको कृषि विभाग अन्तर्गतको किट विकास निर्देशनालयका सूचना अधिकारी जगन्नाथ शर्माले बताए ।

च्याउमा सबैभन्दा बढी भुसुनाको समस्या देखिने गरेको छ । पराल पाक्ने गरेर हाल्दा र च्याउको टहरामा जाली राख्दा भुसुनाको समस्या समाधान हुनसक्ने शर्माको भनाइ छ ।

उनी भन्छन्, “जाली राख्न महँगो नभए पनि धेरै किसानलाई यसको ज्ञान छैन ।” जाली सबैतिर र सहज रुपमा पाइने भए पनि किसानलाई जालीको प्रयोगबारे थाहा छैन ।

काठमाडौंँ उपत्यकामा एकातिर धानखेती कम हुँदै गएको छ भने एर्कातिर च्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दा परालको अभाव भएको छ । किसानले परम्परागत रुपमा फलामको भाँडामा पराल पकाउँदा पयाृप्त उत्पादन लिनसकेका छैनन् । विकसित देशमा फोहोरबाट च्याउको उत्पादन हुने गरेको छ ।

शर्मा भन्छन्,– “हामीले पनि फोहोरबाट च्याउ उत्पादन गर्न सके फोहोर व्यवस्थापन र परालको अभाव हुँदैन । यसबाट किसानले मनग्य आम्दानी लिनसक्छन् ।”

च्याउको माग बढेसँगै व्यावसायिक रुपमा च्याउखेती गर्ने किसानको संख्या बढिरहेको छ । केही वर्ष पहिलेसम्म गोलभेँडालगायत तरकारीखेती गरिरहेका किसानसमेत अहिले च्याउखेतीतर्फ आकर्षित भएका छन् । नेपालमा मुख्य गरेर गोब्रे, कन्ये र सिताके च्याउखेती हुँदैआएको छ ।