खेलकुद

जापानी सरकारले एन्फालाई सहयोग

काठमाडौँ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स मैदानको भौतिक पूर्वाधार निर्माणका लागि रु ७४ लाख सहयोग गर्ने भएको छ ।

जापानी दूतावासद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा र एन्फाका महासचिव धीरेन्द्र प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

जापान सरकारले ग्रान्ट असिस्टेन्ट फर कल्चरल ग्रासरुट्स प्रोजेक्टअन्तर्गतबाट नेपाललाई अनुदान स्वरुप सो रकम दिन लागेको हो ।

एन्फा महासचिव प्रधानले उक्त रकमबाट एन्फा कम्प्लेक्समा रहेको मैदानमा दर्शकका लागि शौचालय, निर्माण, चेन्जिङ रुमको स्तर उन्नति र टेक्निकल डाइरेक्टरका लागि कार्यालय निर्माण गर्ने योजना रहेको बताए ।

फुटबलका मुख्य प्रशिक्षक कोजीको कार्यकाल थप

त्यस्तै राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यातोकु कोजीको एक वर्षका लागि कार्यकाल थप गरेको एन्फाले जनाएको छ । सन् २०१६ मार्चदेखि मुख्य प्रशिक्षकका रुपमा रहनुभएका कोजीको आगामी महिनामा म्याद सकिँदै थियो ।