पु.समाचार

कान्तिपुरमाथि लगाइएको मानहानी मुद्दाप्रति चौतारीको आपत्ति

काठमाडौँ । प्रेस चौतारी नेपालले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको विषयमा प्रकाशित समाचारलाई लिएर कान्तिपुर दैनिकमाथि चलिरेको मानहानीको मुद्दाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

चौतारीका महासचिव राजेश राईले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली आम सञ्चारकर्मी र आम सञ्चार माध्यमको संघर्षको जगमा बनेको नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको हुँदा सञ्चारमाध्यममा कुनै सामग्री प्रकाशन तथा प्रसारण गर्नु उसको सबैधानिक अधिकार भएको उल्लेख छ ।

प्रधानन्यायाधीश पराजुली आफैँ मुद्दाको पक्ष भएको मामिलामा समाचार लेख्दा अपहेलनामा कारबाही चलाउनुले प्रतिशोधको भावना लिएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिएको हो ? भन्ने प्रश्न स्वतः उठेको विज्ञप्तिमा छ ।

प्रधानन्यायाधीश पराजुलीले आफैंसँग सम्बन्धित मुद्दा आफैंले हेरेपछि सम्मानित अदालतबाट स्वतन्त्र न्यायिक निरोपण हुनेमा स्वभाविक आंशका उत्पन्न भएको चौतारीको ठहर छ, विज्ञप्तिमा भनिएको छ– “जुनसुकै सञ्चारमाध्यमले पनि समाचार प्रकाशन र प्रसारण गर्दा संविधान र प्रेस जगतले अबलम्बन गर्दै आइरहेका नीति, नियम, मूल्य–मान्यता र आर्दशलाई पालना गर्नुपर्छ भन्नेमा चौतारी दृढ रहेको छ ।”