राजनीति

भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद अब मुलुकमा चल्नेवाला छैन – गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारलाई जरैदेखि उखेलेर नफालेसम्म मुलुकको विकास हुन नसक्ने बताएक छन् ।

नेपाल मगर संघको ३६औँ स्थापना दिवस तथा २६औँ राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले मुलुकमा शान्ति र सुशासन कायम नगरेसम्म मुलुक समृद्ध हुन नसक्ने बताए । “भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद अब मुलुकमा चल्नेवाला छैन,” उनले भने ।

गृहमन्त्री थापाले विदेशिएका युवालाई स्वदेशमा रोजगार प्रदान गर्नका लागि आर्थिक विकास र समृद्धि आवश्यक रहेको भन्दै दिगो शान्ति र आर्थिक विकासका लागि वर्तमान सरकार लाग्ने बताए ।

मगर समुदायबाट गृहमन्त्री बन्नुभएका थापाले मुलुक निर्माणका लागि मगर समुदायको महत्वपूर्ण भूमिका रहेको बताउँदै राज्यबाट मगर समुदायले सोचेजस्तो अधिकार पाउन नसकेको उल्लेख गरे । “राज्यको नेतृत्व तहमा मगर समुदायले केही अधिकार पाए पनि अरू स्थानमा अधिकार कम छ,” उनले भने ।

उनले मगर समुदायको अधिकार, विकास र समृद्धिका लागि सशक्त नेतृत्व चयन गर्न सुझाव दिए ।

नेपाल मगर संघका सल्लाहकार बमकुमारी बुढामगरले खस आर्यपछिको ठूलो समुदायका रुपमा रहेको आदिवासी जनजातिलाई राज्यले बेवास्ता गरेको बताए । “१० वर्षे जनयुद्धको शुरुवात मगर बस्तीबाट भएको हो, त्यसैले मगर समुदायलाई वर्तमान सरकारले बेवास्ता गर्न मिल्दैन,” उनले भने ।

नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगरले झण्डै १९ लाख जनसंख्या भएको मगर समुदायको भाषालाई सरकारी कामकाजको भाषाका रुपमा सरकारले मान्यता दिनुपर्ने माग गरे ।

सम्मेलनमा पूर्वका मगर समुदायको हुर्रा नाच, पश्चिम मगर समुदायको कौरा, सोरठी, सालैजो नाच र मध्यपश्चिम तथा सुदूरपश्चिमका मगर समुदायको भूमिया नाच प्रस्तुत गरिएको थियो । यस्तै मगर समुदायबाट विभिन्न ओहोदामा पुगेका व्यक्तिलाई सम्मानसमेत गरिएको थियो ।