आर्थिक

यसरी बढ्न थाल्यो एकाएक धितोपत्र बजार

काठमाडौँ । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज भने उकालो लागेको छ । सोमबार सरकार विस्तार भएको र अर्थमन्त्रीका रुपमा डा युवराज खतिवडा नियुक्त भएपछि शेयर बजारले स्वागत गरेको धितोपत्र बजारका जानकारहरुले टिप्पणी गरेका छन् ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार बजार आज ५.८६ बिन्दुले उकालो लागेर एक हजार ३६४ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १।५१ बिन्दुले उकालो लागेर २८९.१६ बिन्दुमा पुगेको छ ।

आज कूल १५३ कम्पनीको ११ लाख ५१ हजार ९६५ कित्ता शेयर रु ५५ करोड ६८ लाख ६० हजार ३५७ मूल्यमा खरिद बिक्री भएको छ । नेप्से परिसूचक र कारोबार रकममा बढोत्तरी भए पनि उपसूचक भने केही घटेका छन् भने केही बढेका छन् । बैंकिङ ५.८६, होटल ३१.२६, फाइनान्स ३.०३, अन्य ११.९ र माइक्रोफाइनान्स ०।९८ बिन्दुले उकालो लागेको छ ।

यस्तै विकास बैंक ०.३७, जलविद्युत् १.१६, बीमा २.६२ र उत्पादन समूह १०.४१ बिन्दुले ओरालो लागेको छ । लगानीकर्तामा सरकार विस्तारपछि सामान्य रुपमा प्रभाव पर्दा बजार केही उकालो लागेको जानकारहरुले बताएका छन् ।