आर्थिक

श्वेतगंगा हाइड्रोपावरमा यसरी गर्दैछन् पाँच ठूला बैंकहरुले लागनी

काठमाण्डौ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले लागनीका लागी बैंकहरुको सहमती जुटाएको छ । रामेछाप र ओखलढुंगा जिल्लाको लिखु खोलामा निर्माण गर्ने २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाकोलागि लक्ष्मी बैंकको अगुवाईमा जम्मा ५ वटा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले सहवित्तीयरकण अन्तर्गत कर्जा लगानीगर्ने गरी आजकर्जा सुविधा सम्झौतामा हस्ताक्षर सम्पन्न गरेका छन् । उक्त आयोजनाको निर्माण लागत जम्मा रुपैया ५ अर्ब ५९ करोड रहेको छ ।

श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन र नेपाल विद्युत प्राधिकरणवीच विद्युत खरिद सम्बन्धि सम्झौता मिति २०७३ साल पौष १४ गते भएको र उक्त आयोजना निर्माणकोलागि उर्जा मन्त्रालयबाट मिति २०७२ साल चैत्र २८ गते विद्युत उत्पादन अनुमति प्राप्त गरेको थियो । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनलाई सानिमा ग्रुप तथा डोल्मा इम्प्याक्ट फण्डले संयुक्त रुपमा प्रबद्र्धन गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले आयोजना लागतको ७५ प्रतिशत (रु.४ अर्ब १९ करोड) र वाँकी २५ प्रतिशत कम्पनीका संस्थापक तथा सर्वसाधारणहरुले लगानी गर्नेछन् । उक्त आयोजनाको लागि सहभागी बैंक तथा वित्तीय संस्थाहरुले गर्ने आवधिक कर्जा अन्तर्गत लक्ष्मी बैंकको रु.१ अर्व २४ करोड, कुमारी बैंकको रु.१ अर्व, सेन्चुरी कमर्शियल बैंकको रु.७५ करोड, प्रभु बैंकको रु.४० करोड, जलविद्युत लगानी तथा विकास कम्पनीको रु.८० करोड लगानी रहने छ ।

उत्पादन क्षमता २८.१ मेगावाट रहेको श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले झण्डै १७०.८४ गेगावाट आवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना २०७८ साल मंसिरमा संचालनमा आएपछि स्वतन्त्र उर्जा उत्पादकहरुले उत्पादन गरेको मध्येको एक ठुलो आयोजना हुनेछ ।